• २७ पुस २०८१, शनिबार

देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिक निराश : सांसद केसी

blog

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २ गते । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा स्व.सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताउनु भयो ।

सांसद केसीले देश असन्तोष, अराजकता र विद्रोहतिर उन्मुख भएको बताउनु भयो । उहाँले अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरू एक हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको बताउनुभयो ।

‘‘अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको विरोधमा छ । वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट विद्रोहतिर उन्मुख छ ।,’’ सांसद केसीले भन्नुभयो, ‘‘यो परिस्थिति जुन देखिएको छ, त्यसलाई सम्हाल्नुपर्ने सबै राजनीतिक दलहरूलाई चुनौती छ । हामी जति सजिलो सम्झिरहेका छौँ, त्यति सजिलो राष्ट्रिय अवस्था छैन । चाहे आर्थिक होस् हामी अत्यन्त नाजुक स्थितिबाट गुज्रिरहेका छौँ । कुन दिन असफल राष्ट्रतिर उन्मुख हुने स्थिति छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यत्तिकै जटिल र चुनौतीपूर्ण छ । तत्कालै नदेखिएको होला, तर गम्भीर बन्दै गइरहेको छ ।’’

नेता केसीले परराष्ट्र नीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले सरकार सरकार जसरी चल्न नसकेको बताउनुभयो ।