• १२ साउन २०८१, शनिबार

नेपाल बुद्धिचाल महासङ्घको अध्यक्षमा हेराकाजी निर्वाचित

blog

बुद्धिचालमा निर्वाचित पदाधिकारी सपथ लिँदै। तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख १ गते । नेपाल बुद्धिचाल महासङ्घको नवौँ तथा विशेष साधारण सभाले हेराकाजी महर्जनलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिस्ठानमा शुक्रबार र शनिबार चलेको साधारण सभाबाट खाली रहेको अध्यक्ष पदमा हिराकाजी, वरिष्ठ उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षमा माधवप्रसाद प्रधान निर्वाचित हुनुभएको हो । 

अध्यक्ष पदमा भएको निर्वाचनमा हेराकाजीले ४९ मत पाउनुभयो । उहाँका प्रतिद्वन्द्वी प्रवीण भँडेलले ३१ मत पाउनुभएको थियो । यस्तै वरिष्ठ उपाध्यक्षमा दिपेन निर्विरोध निर्वाचित हुनुभयो । उपाध्यक्षमा विजयी माधवले ४२ मत पाउँदा उहाँको प्रतिद्वन्द्वी राजाबाबु रौनियारले ३६ मत पाउनुभएको थियो । यससँगै बुद्धिचाल महासङ्घको २० सदस्सीय कार्यसमिति पूर्ण भएको छ । 

साधारण सभाको बन्द सत्रमा महासचिव धरमबहादुर लामाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ताराबहादुर रानाभाटले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । यसअघि साधारण सभामा सात प्रदेशका ३५ जना, ५५ जिल्लाका ५५ जना, कार्यसमितिका २१ पदाधिकारी, टेक्निकल दुई, राष्ट्रिय च्याम्पियन दुई र राखेपबाट मनोनीत दुई गरी एक सय १८ जना प्रतिनिधिमध्ये ८४ जनाको उपस्थिति रहेको थियो। 

अध्यक्ष हेराकाजीको बुद्धिचाल यात्रा  

पूर्व अध्यक्ष हेराबहादुर स्थापित महासङ्घको अध्यक्ष रहँदा कार्यसमितिमा प्रवेश गर्नुभएका हेराकाजी महर्जन त्यसअघि बुद्धिचालका राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । 

२०५५ सालबाट खेलाडी जीवन सुरु गर्नुभएको उहाँले भारतमा २९ राष्ट्रले प्रतिस्पर्धा गरेको पाश्र्वनाथ अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अनरेटेडतर्फ उपाधि जित्नुभएको थियो । सोही वर्ष आसाममा सम्पन्न भएको जुगल किशोर अन्तर्राष्ट्रिय बुद्धिचालमा उपविजेता बन्नुभएको हेराकाजीले बुद्धिचालको अन्तर्राष्ट्रिय निर्णायकको रूपमा पनि भूमिका निर्वाह गर्दै आउनुभयो ।


उहाँले तुर्किमिनिस्तानमा भएको एसियन इन्डोर चेस च्याम्पियनसिप, ४३औँ चेस ओलम्पियाड र न्युजिल्यान्डमा भएको एसियन भेट्रान चेस च्याम्पियनसिपमा डेपुटी चिफ निर्णायकको भूमिका निर्वाह गर्नुभयो । यस्तै उहाँ सन् २०११ मा फिडे आर्विटर र २०१८ मा इन्टरनेशनल आर्विटर बन्नुभएको थियो । उहाँले बुद्धिचाल महासङ्घमा पदाधिकारीको रुपमा सचिव, महासचिव, उपाध्यक्ष हुँदै एक वर्षअघि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

पछिल्लो एक वर्ष अध्यक्ष विदुर गौतमले राजीनामा दिएपछि कार्यवाहक अध्यक्षको रूपमा काम गर्दै आउनुभएका हेराकाजीले विषम परिस्थितिमा रहेको बुद्धिचाल खेललाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निभाउँदै आउनुभएको छ । २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत रहनुभएका हेराकाजी नेपाली खेलवित्तमा परिचित नाम हो । 

अध्यक्षमा निर्वाचित भएपछि उहाँले सबैको साथमा नेपालको बुद्धिचाल खेललाई अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘जीवनको लामो समय बुद्धिचालमा खर्चिएकोले यस खेलको विकासमा लागि हातमालो गरेर अघि बढ्नेछु । बुद्धिचाललाई ग्रासरुट स्तरमा लैजाने र खेलाडीको थप वृत्ति विकासका लागि काम गर्नेछु ।’’