• १२ साउन २०८१, शनिबार

पूर्वी नेपालमा सिरुवा पर्व मनाइँदै

blog

सिरुवामा पूजाआजा गर्दै आदिवासी समुदायका महिला ।

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख १ गते । झापासहित पूर्वी तराईको मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायको सिरुवा पर्व सुरु भएको छ । राजवंशी, थारु, ताजपुरीया, धिमाल, मेचे, गनगाई र माझीलगायतका आदिवासी समुदायले यो पर्व मनाउन सुरु गरेका हुन् ।

झापामा राजवंशी, ताजपुरीया समुदायले शनिवार पानी सिरुवा खेलेर मनाएका छन् । एक आपसमा पानी छ्यापेर पानी सिरुवा मनाउने गरिएको राजवंशी अगुवाको भनाइ छ । 

आइतबार माटोको हिलो बनाएर हिलो छ्यापाछ्याप गरी काद सिरुवा खेल्ने चलन रहेको र सोमबार रङ खेलेर सिरुवा पर्व समापन गरिने गरेको छ । एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगन्जका आदिवासी अगुवा आत्मराम राजवंशीले बताउनुभयो ।

कोशी प्रदेश सरकारले सिरुवा पर्वको अवसरमा आइतबार प्रदेशभरी सार्वजनिक बिदा पनि दिएको छ । सिरुवा पर्वमा आदिवासी समुदायको बाहुल्यता रहेको क्षेत्रमा विभिन्न प्रकारका महोत्सव तथा मेला लाग्ने गरेको छ । कमल गाउँपालिकाको मंगलबारेमा वैशाख १ गते सिरुवा मेला लाग्छ ।