• २६ वैशाख २०८१, बुधबार

सवारी दुर्घटनामा ६ जना घाइते

blog

रवीन्द्र उप्रेती 

बर्दीबास, चैत ३० गते । पूर्वपश्चिम लोकमार्गको बर्दीबास ११ स्थित जङ्गली क्षेत्रमा आज बिहान विपरीत दिशातर्फ जाँदै गरेका दुई वटा सवारीसाधन एकआपसमा ठोक्किँदा २ चालक र सहचालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बर्दीबास प्रहरीले जनाएको छ । 

बर्दीबास बजारदेखि १६ किमी जङ्गली क्षेत्रमा भएको दुर्घटनामा परि घाइतेमध्ये रौतहट चन्द्रपुर नपा २ का २५ वर्षीय ट्रक चालक रमेश चौधरी र २० वर्षीय सहचालक सुभाष महराको अवस्था गम्भीर छ । लालबन्दीको गढीमाई अस्पतालमा भर्ना गरिएका दुबैको टाउकोको पछिल्लो भाग र बायाँ हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 

त्यस्तै मकवानपुर उप महानगरपालिका १२ का ४२ वर्षे बसचालक सीताराम सुनारलाई बर्दीबासको शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको छ । छाती, दाहिने हात र खुट्टामा चोट लागेका चालक सुनारको अवस्था मध्यम रहेको अस्पताल व्यवस्थापक दीपेन्द्र ढकालले जनाउनुभयो । सोही अस्पतालमा उपचारार्थ भर्ना गरिएका बसका यात्रीहरु मोरङ सुन्दरहरैंचा १२ का २६ वर्षीय खगेन्द्र दहाल, मोरङ सुनबेंसी २ की ४६ वर्षीया रुपा ढकाल र बेलबारी ११ की ३८ वर्षीया पूर्णिमा लिम्बूको टाउको, खुट्टा र ओठमा चोट लागेको छ । उहाँहरुको अवस्था भने सामान्य रहेको शुभ स्वस्तिक अस्पतालले जनाएको छ । 

घटनास्थलबाट बर्दीबासस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जनाए अनुसार काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख १६०१ नं को यात्रु बस तथा विपरीत दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९५ नं को मालवाहक ट्रक पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बाँके पुल नजिक ठक्कर खाँदा दुर्घटना भएको हो । 

प्रहरी नायब उपरीक्षक पोखरेलको कमाण्डमा दुर्घटना स्थल पुगेको ट्रफिक प्रहरीसहितको सुरक्षा टोलीले घाइतेहरुको उद्धार गरि असपताल पु र्‍य ाएका थिए । दुर्घटनाका कारण लोकमार्गको जङ्गली क्षेत्रमा केहीबेर आवागमन अवरुद्ध भए पनि सुरक्षाकर्मीले केही बेरमै सवारी आवागमन सुचारु गराएका थिए । 

तत्काल दुर्घटनाको एकिन कारण स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । तथापि घटना प्रकृति तथा तत्काल प्राप्त सङ्केतको आधारमा सहचालकले ट्रक चलाएका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ ।