• २ असार २०८१, आइतबार

तामाङ जातिको 'ताम्बा' संरक्षण

blog

सहभागीलाई तामाङ समुदायले लगाउने मौलिक पोशाक हस्तान्तरण गर्दै नगर प्रमुख लामा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत २९ गते । तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले ताम्बा संस्कार संरक्षण थालिएको छ । हेटौँडा उपमहानगरपालिकाले संस्कृति जगेर्ना गर्न तालिम सञ्चालन गरिएको हो । 

धार्मिक परम्परा अन्तर्गत तामाङ संस्कृतिका वेत्ता हुन् ताम्बा अर्थात् डम्फुरे । अर्को अर्थमा मानव उत्पत्ति र प्रकृतिका विषयमा बोल्न सक्ने वक्तालाई ताम्बा भनिन्छ । इतिहासका विषयलाई डम्फु बजाएर प्रस्तुत गर्ने भएकाले ताम्बालाई डम्फुरे पनि भनिन्छ ।

नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्य अनुरूप सञ्चालन भएको तामाङ समुदायमा ताम्बा संस्कार तालिमको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख लामाले नगर क्षेत्रमा रहेका विभिन्न जातजातिको धर्म संस्कृतिको जगेर्ना गर्ने काममा लागेको बताउनुभयो। संस्कृतिको पहिचानले मात्र मानिसलाई चिनाउँने भन्दै उहाँले पहिचान मेटाउने काममा लाग्न नहुने बताउनुभयो । नगरको विकासका लागि सांस्कृतिक पहिचान आवश्यक भएको भन्दै उहाँले युवा पुस्ताले पहिचानको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । 

जातीय पहिचान सहित संस्कृति संरक्षणका लागि सञ्चालन गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा सहभागीलाई तामाङ समुदायले लगाउने मौलिक पोशाक समेत हस्तान्तरण गरिएको थियो । तालिममा सहभागिताले सोही पोशाक लगाएर ताम्बा तथा डम्फु सेलोको प्रशिक्षण लिइरहेको कार्यक्रमका संयोजक ताराबहादुर भोम्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा हेटौँडा–१४ का अध्यक्ष दीपक खड्काले करिब ८५ प्रतिशत तामाङ समुदायको बसोबास रहेको क्षेत्रबाट संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संस्कार मूल्यमान्यता जोगाउँदै विकासको गतिमा अघि बढ्न जरुरी रहेको स्पष्ट पार्नुभयो । तामाङ समुदायको पहिचान जोगाउँनका लागि नगर र वडाले काम गरीरहेको भन्दै पछिल्लो समय वडामा ३ वटा गुम्बा निर्माण गरेको जानकारी दिनुभयो ।

छोर्वा बोम्बो तथा डम्फु सेलो व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष सार्कीमान हिम्दुङ्को अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना,वडासदस्यहरु वीनाकुमारी थिङ लामा, श्यामकुमार भोलन, १४ नम्बर वडाका सचिव सीताराम रिमाल, तालिमका प्रशिक्षक मदन थिङको आतिथ्यता थियो ।