• २० वैशाख २०८१, बिहिबार

माथिल्लो मनाङमा धनुर्विद्या खेल सुरु

blog

यदुप्रसाद भट्ट

मनाङ, चैत २९ गते । उपल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ मा धनुर्विद्या खेल आजबाट सुरु भएको छ । एक सातासम्म मनाइने यो खेललाई मनाङीले आफ्नो परम्परा र सम्पदाको उत्सवका रूपमा लिने गर्दछन् । 

विशेषगरी गुरुङ, घले समुदायले एक सातासम्म मनाउने यो उत्सवमा आफ्नो कला, पराक्रम, कौशलता प्रदर्शन गर्दछन् । नेपाल बाइसे–चौबिसे राज्यमा विभाजित हुँदा यो पर्वको उत्पत्ति भएको अनुमान गरिएको छ । राजाहरू आपसमा लड्ने गर्दथे, त्यसैले उनीहरूले आफ्ना शत्रुहरूलाई जित्नका लागि यो पर्व आयोजना गरेको र त्यसलाई आजसम्म पनि निरन्तरता दिइराखेको संस्कृतिकर्मी विनोद गुरुङले जानकारी दिनुभयो ।

वसन्त ऋतुको आगमनसँगै नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने यस उत्सवलाई तल्लो मनाङमा ‘धाचाङ’ पनि भनिन्छ । यस उत्सवमा गाउँका दुवै छेउका गाउँलेहरू तोकिएको ठाउँमा भेला भएर दुई समूहमा विभाजित हुन्छन् । उत्सव व्यवस्थापन समितिले दुवै समूहबाट पैसा उठाउँछ । धनुर्विद्या प्रतियोगिता गराउँछन् । विजेता समूहलाई नगद पुरस्कारसहित फूलमाला र खादाले सम्मान गर्ने चलन रहेको गुरुङले जानकारी दिनुभयो ।

चाडपर्वको अन्तिम दिन लामाहरूको अनुष्ठान नृत्य गरिन्छ । नृत्य प्रदर्शनपछि दानवरुपी पुरुष र महिलाका दुईवटा तस्बिर जोड्छन् । यिनीहरूलाई गाउँको शत्रु मानी जसले तिनीहरूलाई प्रहार गर्छ उसैलाई त्यस वर्षको ‘नायक’ उपाधि दिइने चलन छ । 

पर्वको अन्त्यमा, गाउँलेहरूद्वारा सब्रु भनेर चिनिने नाच गरिन्छ । यस पर्वको मुख्य उद्देश्य भनेको दुष्ट आत्मा र दानवहरूको विनाश गरी जनताको समृद्धि, स्वस्थ र सुखी बनोस् भन्ने रहेको छ । यसबाहेक यो उत्सवमा सांस्कृतिक कार्यक्रम गरी नाचगान गर्ने, भोजभतेर गर्ने, आपसी मित्रता कायम गर्ने गरिन्छ ।