• १३ साउन २०८१, आइतबार

उजाडिएको स्याउ बगानमा हरियो तरकारी

blog

शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउको बगानमा लगाइएको तरकारी बाली । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, चैत २८ गते ।
हिमालपारीको जिल्ला मुस्ताङमा अहिले रुखका पातहरु झरेर उराठ बनेको अवस्था छ । टाढाटाढासम्म हेर्दा देखिने उराठ वातावरण भित्र हरियाली पनि हुन सक्छ भन्ने तथ्य मार्फा क्षेत्रले देखाएको छ ।

शीतोष्ण हावापानी भएको मुस्ताङमा अधिकांश फलफूलको बोटहरु हुने र अहिले सबैको पात झरेर उराठ भइरहेको छ । अब फूल फुल्ने समय भएको भए पनि त्यही बोटको मुनि हरियो सागपात लगाउन पनि सकिन्छ भन्ने प्रयोग मात्रै नभएर यथार्थमै उत्पादन गरीएको छ मार्फामा ।

स्याउ तथा अन्य फलफूलको बगान भित्र अन्तरबालीका रुपमा लसुन तथा बन्दा जस्ता तरकारीबाली शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले लगाएको छ ।

नेपालको अधिकांश भागमा एउटा बाली नै एक पटकमा लगाउने गरेको भए पनि अन्तरबाली लगाउँदा राम्रो उत्पदान हुन सक्ने सम्भावनालाई पनि मार्फामा रहेको वागवानी विकास केन्द्रले प्रयोगात्मक रुपमै देखाएको छ । हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले अन्तरवाली व्यवस्थापन गरेर राम्रो उत्पादन गर्न सक्ने उदाहरणकै रुपमा आफ्नो फर्ममा रहेको फलफूल बगानमा तरकारी खेती गरेको छ ।

शीतोष्ण फलफूलवालीहरु स्याउ, ओखर, आरु, आरुवखडा, खुर्पानी, कागजीवदाम, नास्पातीको उत्पादन राम्रो हुने मुस्ताङमा अन्तरबालीका रुपमा खेती गर्दा दोहोरो फाइदा लिन सकिने भएकाले पनि त्यसको प्रयोग शीतोष्ण वागवानी विकास केन्द्रले थालेको हो ।

मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा प्राय हरेक फलफूलको बगैचाभित्र अन्तरवालीको रुपमा ताजा तरकारीहरु लगाइएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । अधिकांश क्षेत्रमा फलफूलको बगानमा अन्यबाली लगाउने गरेको पाइदैन तर यहाँ भने हामीले हरेक बाली सँगै अन्य बाली पनि लगाएर अन्तरबाली अभ्यास गरेका छौं–उहाँले भन्नुभयो ।

केन्द्र प्रमुख आत्रेय भन्नुहुन्छ, ‘‘अन्तरवाली भनेको मुख्य वालीलाई नकारात्मक असर नपर्ने गरी मुख्य वालीको बीचबीचमा लगाईने अन्य वालीलाई बुझ्न सकिन्छ ।’’ अहिलेको यो समयमा उराठ लाग्दो फलफूलको बोट मुनि हरिया ताजा तरकारी देखिन्छ भने बैशाखको अन्त्य तिर हेर्दा हरिया फलफूलका बोटहरुको विचमा रहर लाग्दा तरकारीवालीहरु अन्तरवालीको रुपमा फष्टाई रहेको राम्रो दृष्य देख्न सक्ने उहाँ बताउनुहुन्छ । बागवानी विकास केन्द्रले आफ्नो जमिनको सकेसम्म कुनै पनि जग्गा वाँझो र खाली नछोड्ने तरिकाले फलफूल बगैचा भित्र अन्तरवाली लगाउने गरेको आत्रेयको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्रमार्फामा फलफूलका बगैचा भित्र कोशेवालीहरुमा सिमी, केराउ, भटमास जस्ता तरकारी लगाउने गरिन्छ । यसैगरी, आलु, प्याज, लसुन, वन्दा, काउली, व्रोकाउली, रायो साग, कुरिलो, गोलभेडा, भन्टा जस्ता तरकारीवालीहरु अन्तरवालीको रुपमा लगाईने उहाँको अनुभव छ ।

फलफूल कृषकहरुले अन्तरवाली लगाउँदा वालीको छनौट गर्नु महत्त्वपूर्ण कार्य हुने उहाँको भनाइ छ । सकेसम्म कोशेवालीलाई अन्तरवालीको रुपमा लगाउन सकेमा उत्पादन निकै राम्रो हुने गर्दछ । अन्तरवाली लगाउँदा मुख्य वालीसँग प्रतिस्पर्धा गर्ने खालका नलगाएर मुख्य वालीलाई पनि राम्रो फाईदा पुग्ने खालको लगाउनु पर्छ । अन्तरबाली लगाउँदा जग्गाको उच्चतम उपयोग गर्न सकिने उहाँको भनाइ छ ।

अन्तरवाली लगाउँदा मलखाद, सिँचाइको उच्चतम उपयोग हुने भएकाले दुवै वालीको उत्पादन उत्पादकत्व बढाउन सकिन्छ । बगैचामा प्रयोग भएको मलको धेरै उपभोग गर्ने मकै कोदो तथा लहरे बाली र गहिरो जरा जानेबाली लगाउँदा मुख्य बालीलाई नै असर गर्ने भएकोले त्यस्तो लगाउन नहुने उहाँले भन्नुभयो ।