• १३ साउन २०८१, आइतबार

हिउँदे फलफूलको नर्सरी व्यवस्थापन सिकाउँदै शीतोष्ण बागवानी विकास केन्द्र

blog

शीतोष्ण बागवानी विकास केन्द्रले हिउँदे फलफूलको नर्सरी व्यवस्थापन सम्बन्धी आयोजना गरेको तीन दिने अगुवा कृषक तालिममा सहभागीहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, चैत २८ गते ।
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले हिउँदे फलफूलको नर्सरी व्यवस्थापन सम्बन्धी तीन दिने अगुवा कृषक तालिम सञ्चालन गरेको छ ।

यही चैत २५ गतेबाट सुरु भएको तालिम चैत २७ गते सकिएको छ । तीन दिन चलेको तालिममा शीतोष्ण हावापानी भएका देशभरका १९ जिल्लाबाट २३ जना नर्सरीधनी कृषकहरु सहभागी भएका शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।

तालिममा शीतोष्ण हावापानी हुने क्षेत्र रहेको मुस्ताङ्ग, जुम्ला, सोलुखुम्वु र दोलखा जिल्लाबाट दुई÷दुई जना र बाग्लुङ्ग, म्याग्दी, गोरखा, मुगु, डोल्पा, कालिकोट, हुम्ला, बैतडी, बाजुरा, डडेलधुरा, रोल्पा, रुकुम पूर्व, रसुवा, मकवानपुर र ओखलढुङ्गाबाट एक÷एक जना कृषकहरु सहभागी भएका थिए ।

तालिममा शीतोष्ण फलफूलहरुको गुणस्तरिय विरुवा उत्पादन गर्नका लागि केन्द्रमा भएका विभिन्न कृयाकलापहरुका सैद्धान्तिक एवम् व्यवहारिक कक्षाहरु समेटिएका थिए । तीन दिनको तालिममा सकेसम्म कृषकहरुलाई व्यवहारिक ज्ञान दिने नै हुने भएकाले फिल्डमा नै लगेर कृषकहरुलाई सिकाउने र देखाउने काम भएको तालिमको संयोजक शीतोष्ण बागवानी विकास केन्द्रका प्राविधिक सहायक भिमसेन भण्डारीले जानकारी दिनुभयो ।

विशेष गरी केन्द्रमा हुने शीतोष्ण फलफूलहरु स्याउ, ओखर, आरु, आरुवखडा, खुर्पानी, कागजी वदाम, अंगुर, स्वीट चेरी, हेजल नट आदीका प्रसारण विधिहरु सिकाईएको थियो । यसका साथसाथै यस केन्द्रमा भई रहेका नविनतम प्रविधिहरु जस्तै उच्च घनत्वमा स्याउ खेतीको लागि विरुवा उत्पादन कार्य जस्तै माउण्ड लेयरिङ्ग ट्रेन्च लेयरिङ्ग र तन्तु प्रजननका विविध पक्षहरु पनि कृषकहरुलाई सिकाइने छ । कलमी बिरुवा उत्पादनका लागि रुटस्टक तथा सायनको ब्यवस्थापन, कलमीका विभिन्न विधिहरु, मैनवाट सायन उपचार विधि, टप वर्किङ्ग तथा नर्सरीका रोग कीरा ब्यवस्थापनका विषयहरु पनि समेटिएका छन् केन्द्र प्रमुख आत्रेयले जानकारी दिनुभयो ।