• २२ वैशाख २०८१, शनिबार

रुपेशलाई पछि पार्दै भारतका सुधिरकुमार च्याम्पियन

blog

बुद्धिचाल उपाधि विजेतालाई पुरस्कार प्रदान गरिँदै ।

छवि पाण्डे

बुटवल, चैत २७ गते । कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका १९६८ रेटेड सुधिरकुमार सिन्हाले जित्नुभएको छ ।

बुटवलमा मङ्गलबार सम्पन्न भएको पाँच दिने प्रतियोगितामा सिन्हाले आठ अङ्क जोड्नुभयो । उपाधिसँगै उहाँले दुई लाख रुपियाँ प्राप्त गर्नुभयो । अन्तिम समयमा पछि पर्नुभएका नेपालका रुपेश जैसवाल दोस्रो हुनुभयो ।

समान आठ अङ्क बनाउनुभएका रुपेशले एक लाख १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । डाइरेक्टर इन्काउन्टर प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले आफ्नै नेपाली खेलाडीको नतिजाबाट प्रभावित हुनु परेको हो । 

सिन्हासँग खेल्नुभएका नेपालका कृष्णथापाले बराबरी गरेको भए रुपेशले उपाधि जित्ने पक्का थियो । नेपालका सुरज महर्जन ७.५ अङ्क जोड्दै तेस्रो हुनुभयो । उहाँले ६० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

चौथो हुनुभएका नेपालका तीर्थ विकले ४० हजार र पाँचौँ भएका भारतका रिशव निशादले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । कूल १० लाख एक हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा ७१ जना खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताका एक सय ४२ खेलाडीको सहभागिता रहेको थियो । विजेतालाई उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेलगायतले पुरस्कार प्रदान गर्नुभयो ।