कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकासँग भौगोलिक सीमा जोडिएको गुराँस गाउँपालिकामा साबिकका वराह, सेरी, गोगनपानी, पिलाडी, लालीकाँडा गाउँ विकास समितिलाई सामेल गरिएको छ । व्यावसायिक आलु तथा तरकारी उत्पादनका लागि गुराँस गाउँपालिका प्रख्यात छ । हिउँदको समयमा गुराँस फुलेर पालिकाका अधिकांश स्थान ढकमक्क हुन्छन् । यस पालिकाबाट नेपालगन्जका दृश्यसमेत देखिने भएकाले दृश्यावलोकनका लागि पर्यटक आउने गर्छन् । पालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का टोपबहादुर बिसी हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष बिसीसँग गोरखापत्रका दैलेख समाचारदाता कमल शर्माले गर्नुभएको कुराकानी :
दुई वर्षको यस कार्यावधिमा उल्लेखनीय के के काम गर्नुभयो ?
स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । स्थानीय सरकारसँग नागरिकका असीमित आशा छन् । हामीले नागरिकको चाहना र निर्वाचनको समयमा जनताका बिचमा गरेको प्रतिबद्धता अनुसार काम गरिरहेको छौँ । खास गरी गाउँपालिकाका कामलाई सुशासनमैत्री बनाउने, जनमुखी प्रशासन सञ्चालन गर्ने र भौतिक, सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित काम हामीले गरिरहेका छौँ । हामी निर्वाचन भएको करिब दुई वर्ष पुग्न लाग्यो । यो समयमा पहिलो वर्ष हामीले स्थानीय सरकार सञ्चालन, आधारभूत आवश्यकताको पहिचान र कर्मचारी व्यवस्थापन र नागरिकलाई प्रभावकारी सेवा कसरी दिन सकिन्छ भन्नेमा नै रह्यो । तथापि, गाउँपालिकाको केन्द्रबाट सेवा प्रवाह गर्न कठिन अवस्थामा नागरिकलाई घरदैलोमै सेवा दिने सामाजिक सुरक्षा भत्ता घरदैलोमा वितरण, योजना सम्झौता, स्वास्थ्य शिविर र गाउँपालिकाले गर्ने हरेक कामको समीक्षा वडामै गएर गर्ने कामको सुरुवात ग¥यौँ । निर्वाचित हुनासाथ पहिलो वर्ष कर्मचारी एवं कार्यालय व्यवस्थापनको विषयलाई बहाना बनाएर निरन्तर कार्यालय घेराउ, आक्रमण, तोडफोड र हामीमाथि भएको साङ्घातिक हमलाका कारण गुराँस गाउँपालिकामा गोली नै चल्यो । त्यसका बाबजुद हामीले छ महिनासम्म राम्रोसँग काम गर्न सकेनौँ । गाउँपालिकामा माथि तोडफोड गर्नेलाई कारबाही नगरी अदालत पुग्यौँ र अदालतबाट गाउँपालिकाले गरेको निर्णयलाई नै सदर गरेपछि विवाद समाधान भयो ।
करार कर्मचारी हटाएपछि आन्दोलनसमेत भयो । गोलीसम्म चल्यो । अहिले गाउँपालिकामा करार कर्मचारी राख्नुभएको छ वा छैन ?
गाउँपालिकामा कार्यरत करार कर्मचारी र तत्कालीन जिल्ला विकास समितिबाट खटाएका कर्मचारीको करार सम्झौता नवीकरण नगरेका कारण आन्दोलन भएको थियो । त्यसलाई राजनीतिकरणसमेत गरियो तर अवस्था फरक थियो । सेवा करारमा कर्मचारी राख्न नपाउने होइन । हाम्रो आन्तरिक आम्दानीको अवस्था हेरेर पालिकाले कार्यालय र कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गरेर मात्र सेवा करारमा कर्मचारी राख्नुपर्ने हो । त्यो पनि प्रतिस्पर्धाको आधारमा तर हाम्रोमा पहिला यी मैले भनेका कुनै काम भएका थिएनन् । अहिले हामीले पनि सेवा करारमा कर्मचारी राखेका छौँ । ओएनएम सर्वेक्षण गरेर, प्रतिस्पर्धाका आधारमा र कार्यालयमा आवश्यकताका आधारमा मात्र राखेका छौँ ।
पूर्वाधारको क्षेत्रमा गाउँपालिकाले के के काम गरेको छ ?
पूर्वाधारको क्षेत्रमा गाउँपालिकाले दुई वर्षमा धेरै काम गरेको छ । नागरिकलाई सेवा दिनसमेत कठिन भएको अवस्थामा हामी निर्वाचित भएपछि नयाँ सुविधासम्पन्न भवन निर्माण गरी गाउँपालिकाको सेवा दिएका छौँ । साथै चार वटा वडा कार्यलयका भवन निर्माण गरेका छौँ । त्योसँगै गाउँपालिकाका विद्यालयको पुनर्निर्माण सबै वडामा पुग्ने सडक मर्मतलगायत काम गरेका छौँ । हाम्रो पालिकाका सबै वडामा सडक पुगेको अवस्था छ । नयाँ ट्र्याक खोल्नुपर्ने छैन । हामीले सडक मर्मतका नाममा बर्सेनि एक करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था भएका कारण हामीले गाउँपालिका आफैँले सडकको मर्मत गर्नका लागि आवश्यक पर्ने डोजर लोडर खरिद गरेका छौँ ।
कृषिका लागि उपयुक्त स्थान गुराँस हो । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि के काम गरिरहेको छ ?
हाम्रो प्रमुख पेसा कृषि हो । कृषि पेसालाई व्यवस्थित गरेको खण्डमा मात्र आयआर्जन गर्न सकिन्छ भन्ने मूल उद्देश्य राखेर गुराँस गाउँपालिकाले चालु आर्थिक वर्षमा धेरै बजेट कृषि क्षेत्रमा विनियोजन गरेका थियौँ । अहिले गाउँपालिकाका कृषि र पशु शाखाले व्यावसायिक रूपमा कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेका छन् । अहिले तपाईं गाउँमा जानुभयो भने हाम्रा कर्मचारी कृषककै खेतबारी र गोठमा भेट्न सक्नुहुन्छ । हामीले यस अवधिमा हामीले गुराँस कृषि विकास तथा अनुसन्धान केन्द्रको स्थापना गरेका छौँ । यस केन्द्रबाट उल्लेख्य आन्तरिक राजस्वसमेत आम्दानी गरेको छौँ । करिब ५० प्रतिशत व्यावसायिक किसानलाई कृषि क्षेत्रमा सेवा प्रवाह गरेका छौँ र यस वर्ष सबै किसानको विगतभन्दा उल्लेख्य आम्दानीसमेत भएको छ । विगतमा कृषि अनुदानका नाममा भएको बेथिति नियन्त्रण गरेका छौँ । नियन्त्रण मात्र होइन विगतको करोडाँै रकम असुली गरेर कृषि क्षेत्रमै लगाउँदै छौँ । करिब १५० जना २०–३० वर्षका युवा किसानलाई तालिम दिएका छौँ । ‘ग्रिन जब र ग्रिन’ कर्णाली जस्ता कार्यक्रम सञ्चालन गरेका छौँ । कृषिजन्य उद्यमलाई प्रोत्साहन गर्न ‘एक वडा एक कृषि उद्योग’ जस्ता विभिन्न रोजगारमूलक प्रभावकारी कार्यक्रम सञ्चालन गरेका छौँ । त्यसले गर्दा युवा विदेश पलायन रोक्न महत्वपूर्ण काम गरेको छ तर हाम्रोमा समस्या भनेको त्यसको बजारीकरणको छ । सुर्खेत नेपालगन्जसम्म तरकारी निर्यात गरे पनि भारतबाट आउने तरकारीका कारण किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाउने अवस्था अझै छ ।
शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले के के काम गरिरहेको छ ?
शिक्षा क्षेत्रमा पञ्चवर्षीय शैक्षिक गुरुयोजना तयारी गरी कार्यान्वयनमा रहेको छ । अध्यक्ष शैक्षिक सुधार कार्यक्रममार्फत युवा, शिक्षा तथा खेलकुदका कार्यक्रम भइरहेका छन् । हाम्रो मौलिकता तथा यहाँको सम्भावनाको आधारमा व्यापक छलफल गरी स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा समेत आइसकेको छ । यसको आधारमा कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तकसमेत लेखन कार्य सम्पन्न भइसकेको छ । त्यो मात्र होइन गाउँपालिकाको शिक्षाको गुणस्तर सुधारका लागि नियमित अनुगमन, शिक्षकको उपस्थिति र बालबालिकाका अभिभावकसमेत आफ्नो बालबालिका विद्यालय गए नगएको हेर्ने अभियानसमेत चलाएका छौँ । त्योसँगै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र जिम्मेवारीबारे अभिमुखीकरण गर्ने, स्थानीय पाठ्यक्रम र पुस्तक निर्माण गर्ने, भौतिक संरचना बनाउने, विद्यालय कामकाज र प्रशासनिक कार्य र विशेष गरी शिक्षालाई प्रविधिमैत्री बनाउने, शिक्षा क्षेत्रको फजुल खर्च घटाउने काम गरेका छौँ ।
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले के के काम गरेको छ ?
स्वास्थ्य क्षेत्रमा अभाव भएको जनशक्तिलाई विधिवत् ढङ्गबाट व्यवस्थापन गरेका छौँ । पालिकाभर सबै स्थानमा स्वास्थ्य संस्था प्रभावकारी रूपमा सञ्चालन भएका छन् । पालिकाको आफ्नै स्रोतबाट पाँच शय्याको अस्पताल सञ्चालन भएको छ । जसमा हालै मात्र सुविधायुक्त ल्याब सेवासमेत करिब २४ घण्टा आंशिक सेवासमेत एमबिबिस डाक्टरको व्यवस्था र आयुर्वेद सेवा केन्द्रको समेत प्रभावकारी रूपमा सञ्चालन गरेका छाँै । यसबिच नियमित रूपमा भिडियो एक्सरेसमेतको नियमित गर्भवती स्वास्थ्य जाँच, स्वास्थ्य शिविर, परामर्शको नियमित सेवा प्रवाह गरेका छौँ । विगतमा पूर्ण रूपमा घाटामा सञ्चालन भएको अस्पतालबाट विगत छ महिनादेखि नियमित सेवासहित राजस्व आम्दानी गर्न थालेको छ । त्यो मात्र नभएर नागरिकलाई स्वास्थ्य संस्थामा गएपछि औषधी नपाउने अवस्थाको अन्त्य गरेका छौँ ।