• २० वैशाख २०८१, बिहिबार

सहिद भीमनारायण गोल्डकप वैशाखमा

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

कविराज घिमिरे 

हिले, चैत २६ गते । १६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ । सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी १६औँ संस्करण आगामी वैशाख २३ देखि २९ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा ए डिभिजन लिगका मचिन्द्र क्लब, न्युरोड टिम (एनआरटी), विभागिय टिम एपिएफसहित आयोजक धनकुटा, भोजपुर, सिराहा, सुनसरी, मोरङ, झापाको सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेताले पाँच लाख रुपियाँ सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछन् । हरेक खेलमा म्यान अफ दि म्याच घोषित गरेर पुरस्कृत गरिने र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्ष भएको १५औँ संस्करणको उपाधि ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडले जितेको थियो ।

नेपाली काँग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उहाँलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उहाँकै सम्झनामा २०५५ सालबाट यो प्रतियोगिता सञ्चालन हुदै आएको छ । 

सुरुका दुई वर्ष नियमित रुपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन नसकेको प्रतियोगिता २०६३ सालपछि वर्षेनि हुँदै आए पनि कोरोना महामारीको कारण तीन वर्ष स्थगित भएको थियो ।

यसैबिच सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानले १५औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय समेत सार्वजनिक गरेको छ । १५औँ संस्करणको प्रतियोगितामा ३३ लाख ८६ हजार चार सय ६६ रुपियाँ खर्च भएकोमा २९ लाख ३६ हजार नौ सय दुई रुपियाँ सङ्कलन भएको छ ।

यस्तै ६ लाख ४४ हजार आठ सय ९८ रुपियाँ सङ्कलन हुने चरणमा रहेको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताउन भयो । उहाँले दाताबाट कबुल भएको रकम सङ्कलन भएमा एक लाख ९५ हजार तीन सय ३४ रुपियाँ बचत हुने जानकारी पनि दिनुभयो ।