• ९ मंसिर २०८१, आइतबार

कुर्वाका विपन्न समुदाय आन्दोलित

blog

कुर्वाका स्थानीयहरु मालपोत कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, चैत २६ गते । मालपोत कार्यालय लहानले हकदावीसम्बन्धी ३५ दिने सार्वजानिक सूचना सार्वजनिक गरेपछि धनगढीमाई नगरपालिका –३ कुर्वाका दलित तथा विपन्न समुदाय आन्दोलित भएका छन् । मालपोत कार्यालय लहान अगाडि विरोध प्रदर्शन गरी ३६६ जनाले जग्गा भोग गरिरहेको दाबीसहित निवेदन दर्ता गराएका छन् । 

२०८० फागुन २७ गते पत्रिकामा मालपोत कार्यालय लहानले जारी गरेको हकदावीसम्बन्धि सूचनामा भनिएको छ, “माडर –६ बस्ने रामदयाल साहसमेत दुई जनाको एकसय पाँच (१०५) विघा जग्गा सिरहा अदालतबाट २०७१ साउन २८ गते अंश दर्ता मुद्दामा मिलापत्र भए बमोजिम सो जग्गाहरु कौशलकिशोर अमित २४ जनाको नाममा छुट्टाछुट्टै दर्ता गरीपाउँ भनी निवेदन माग गर्नुभएको हुँदा हकसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएको छ ।” 

धनगडीमाई नगरपालिकाका पूर्व नगरप्रमुख हरिनारायण चौधरीका अनुसार १९९५ देखि अमानतमा रहेको १०५ विघा जमीन २०२२ सालको नापीमा जग्गावालाहरुले दार्ता गराउन सकेनन् । २५ विघाको हदबन्दी लागेपछि जग्गा सरकारकै नाउँमा गयो । जग्गासम्बन्धी व्यवस्थापन गर्ने मालअड्डा अभिलेख महाशाखामा रेकर्ड राखेको भनिएको छ । 

पत्रिकामा सूचना जारी भएपछि स्थानीय विपन्न परिवारहरु जो जग्गा भोगचलन गरिरहेका छन् तिनिहरुको उठिवास हुने भए भन्दै विरोध गरेका छन् । पूर्व वडाध्यक्ष देवकुमार साहले स्थानीय सोझा व्यक्तिलाई झुक्याउने काम भएको टिप्पणी गर्नुभयो ।  

जग्गा उपभोग गरिरहेका प्रेम साह, भुटाई कामैत, रामदेव साह, लाले चौधरीलगायतले आफूहरु निरक्षर भएको र जग्गा पाउने भनी कागजमा सही छाप गरेको बताउनुभयो ।