• १३ साउन २०८१, आइतबार

साहित्यकार त्रिपाठी र बन्धुलाई मनिराज वाङमय पुरस्कार

blog

पुरस्कारबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइदै ।

प्रकाशविक्रम शाह

धनगढी, चैत २४ गते । वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्रा.डा. वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद् साहित्यकार एवं भाषाविद् प्राध्यापक डा. चूडामणि बन्धुलाई मनिराज वाङमय पुरस्कार प्रदान गरिने भएको छ । 

धनगढीका महाकाव्यकार तथा प्रखर ज्योतिष मनिराज जोशी र उहाँका परिवारका सदस्यहरू गोविन्दराज जोशी, तारा रोस्यारा जोशी र वसन्तराज जोशीद्वारा नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापित मनिराज वाङमय पुरस्कार २०७८ बाट त्रिपाठी र २०७९ बन्धुलाई प्रदान गरिनेछ । पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार पद्मराज जोशीले ६ वर्षदेखि देशका एक जना मूर्धन्य व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दैआएको जानकारी दिनुभयो । पुरस्कारबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जोशीले धनगढीमा आगामी २७ गते आयोजना गरिने एक विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार तथा भाषाविदद्वय त्रिपाठी र बन्धुलाई पुरस्कार अर्पण गरिने बताउनुभयो  ।

प्रतिष्ठानले हालसम्म राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र उपन्यासकार, कथाकार र समालोचक डा. तुलसी भट्टराईलाई यो पुरस्कार प्रदान गरिसकेको अध्यक्ष जोशीले  बताउनुभयो । 

उहाँका अनुसार प्राविधिक कारणले दुई वर्ष वितरण गर्न नसकिएको पुरस्कार यस वर्ष एकै पटक प्रदान गरिँदै छ । महाकाव्यकार जोशी र उहाँको परिवारजनले प्रतिष्ठानमा १० लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । प्रतिष्ठानले स्थापना गरेको जयराज पन्त र नृपबहादुर स्वार पुरस्कार पनि आगामी २७ गते वितरण गरिने जनाएको छ ।