कोकिला ढकाल
इलाम, चैत २४ गते । वैशाख १५ मा हुन लागेको इलाम क्षेत्र न. २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
अहिले सम्ममा जनमत पार्टीका प्रमदिप लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।
अन्य दलहरूले भने मनोनयन दर्ताको समय लिए पनि उम्मेदवारी दर्ता गर्न अझै नआएको बताइएको छ । निर्वाचनका लागि २० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि एक लाख १५ हजार आठसय ८९ मतदाता रहेका छन् । नगरपालिका र गाउँपालिका गरी छ वटा पालिकाका ४२ वडामा निर्वाचन हुन लागेको छ ।