• २१ वैशाख २०८१, शुक्रबार

भागबन्डामा सहमति नबन्दा सरकार गठनमा अलमल

blog

बुलबुले समाचारदाता

सुर्खेत, चैत २४ गते । कर्णाली प्रदेश सरकार गठनमा अलमल देखिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै राजीनामा दिए पनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । 

गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच मन्त्रालयको भागबन्डामा सहमति हुन नसक्दा सरकार गठनको प्रक्रिया अवरुद्ध भएको हो । सहमति अनुसार अब सरकारको नेतृत्व एमालेले गर्ने छ । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ तर मन्त्रालयको भागबन्डा नहुँदा उहाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सक्नुभएको छैन । 

प्रदेश प्रमुख तिलक परियारले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसक्नुभएको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन दलहरूलाई आह्वान गर्नुभएको हो । मुख्यमन्त्रीका लागि दाबी पेस गर्न चैत २७ गतेसम्मको समय दिइएको छ ।

प्रदेशमा अहिले आठ वटा मन्त्रालय छन् । जसमध्ये माओवादीले चार वटा मन्त्रालयमा दाबी गरेको छ । चार मन्त्रालयसहित सभामुख पनि पाउनुपर्ने दाबी माओवादीको छ । अहिले एमालेबाट नन्दा गुरुङ सभामुख हुनुहुन्छ । मुख्यमन्त्री एमालेले पाउँदा सभामुखसहित आधा मन्त्रालयमा माओवादीले दाबी प्रस्तुत गरेको जनाइएको छ ।

नयाँ सरकार गठनको विषयमा बिहीबार र शुक्रबार दुई दलबिच छलफल भए पनि सहमति हुन नसकेको हो । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबिच भेट भएको थियो । छलफलमा शर्माले सभामुखसहित मन्त्रालयको टुङ्गो लगाएर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको थियो तर कँडेलले पहिले मुख्यमन्त्रीमा दाबी पेस गर्ने र त्यसपछि थप छलफलसहित मन्त्रालयको टुङ्गो लगाउने प्रस्ताव गर्नुभएको थियो  जसमा शर्मा सहमत हुनुभएन ।

बिहीबार नै माओवादीको संसदीय दलको बैठकसमेत बसेको थियो । बैठकले सरकार गठनको विषयमा निर्णयसहितको जिम्मेवारी दलका नेता शर्मालाई दिने निर्णय गरेको छ । साथै प्याकेजमै सहमति गरेर मात्रै मुख्यमन्त्रीमा एमालेलाई समर्थन दिनुपर्ने निर्णय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिनुभयो । मुख्यमन्त्री नियुक्तिअघि नै सभामुखले राजीनामा दिनुपर्ने, मन्त्रालयको भागबन्डाको टुङ्गो लगाउनुपर्ने र दुई वर्षपछि पुनः सरकारको नेतृत्व माओवादीलाई दिने लगायतका सहमति गर्नुपर्ने माओवादीको माग छ । यी मागमा सहमत भएमा मात्रै मुख्यमन्त्रीका लागि समर्थन दिने जनाइएको छ ।

माओवादी सहमत नभएपछि शुक्रबार कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्नुभएन । उहाँले शुक्रबार नै माओवादी र नेकपा (एकीकृत समाजवादी) सहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गर्नुभएको थियो । एमाले पहिला मुख्यमन्त्री नियुक्ति गर्ने र त्यसपछि भागबन्डाको विषयमा छलफल गर्ने पक्षमा छ । बिहीबार सहमति नभए पनि शुक्रबार छलफल गरेर टुङ्गो लगाउने तयारी भए पनि माओवादीसँगको वार्ता सफल हुन नसकेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले माओवादीले सभामुखसहित महत्वपूर्ण मन्त्रालयमा दाबी गरेको बताउनुभयो ।