• २१ वैशाख २०८१, शुक्रबार

सरकारबाट शर्मा बाहिर, कँडेल भित्रिँदै

blog

रजनीकुमारी योगी 

सुर्खेत, चैत २३ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ । बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो । 

सभाबाट राजीनामा घोषणा गरेलगत्तै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । शर्माले करिब १५ महिना कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नुभयो ।

२०७९ साल पुस २७ मा उहाँ प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तत्कालीन अवस्थामा नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो । 

यसबिचमा उहाँले तीन पटक प्रदेश सभाबाट विश्वासको मत लिनु पर्‍यो । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक प्रावधान अनुसार माघ ६ गते विश्वासको मत लिनुभएका उहाँले सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत १७ गते दोस्रो पटक विश्वासको मत लिनुभयो । 

त्यसपछि अर्को साझेदार दल नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि गत वैशाख १५ गते तेस्रो पटक विश्वासको मत लिनुभएको थियो । पछिल्लो पटक नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि चौथो पटक विश्वासको मत लिने तयारीमा रहनुभएका शर्माले अन्ततः राजीनामा दिनुभएको हो । 

नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारको नेतृत्व एमालेलाई दिनुपर्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो । राजीनामा दिनुअघि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यो छोटो अवधिमा पनि अधिकतम काम गर्ने प्रयास गरेको बताउनुभयो । विकास, सुशासन प्रवर्धन र रूपान्तरणमा योग्दान पुर्‍याएको उहाँको दाबी थियो । सरकारको नेतृत्वबाट शर्मा बाहिरिएसँगै अब एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नु हुने भएको छ । 

यसअघि सत्ता गठबन्धनमा आएको फेरबदलकै कारण सरकारको नेतृत्व गर्न नपाउनुभएका कँडेलले यस पटकको फेरबदलबाट भने उक्त अवसर पाउने पक्का भएको छ ।  कर्णाली प्रदेशमा एमालेले पहिलो पटक सरकारको नेतृत्व गर्दै छ । यसअघि दुई पटक माओवादी केन्द्र र एक पटक कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् । 

सङ्घीय सरकारको मन्त्री भइसक्नुभएका कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले पहिलो कार्यकालमा नै प्रदेश सरकारको नेतृत्व गरिसक्नुभएको छ ।

अब कँडेलकै नेतृत्वमा नयाँ समीकरण अनुसार कर्णालीमा तीन दलीय सरकार गठन हुने छ । माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका एकसहित २४ जना प्रदेश सभा सदस्य रहेका छन् । 

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले गठबन्धन सरकारको नेतृत्व कँडेलले गर्ने बताउनुभयो  । उहाँले यसअघि एमालेले सरकारको नेतृत्व गर्ने अवसर नपाए पनि यस पटक पाएको भन्दै सबैलाई समेटेर सरकार सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार एमाले, माओवादी र एकीकृत समाजवादीसहितको नयाँ सरकार गठन हुने छ ।