• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले ५ बजे विश्वासको मत लिने

blog

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह ।

प्रकाशविक्रम शाह

धनगढी, चैत २२ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज दिउँसो ३ बजे लिने भनिएको विश्वासको मत ५ बजे लिने हुनुभएको छ ।

मुख्यमन्त्री शाहको आग्रहमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक ५ बजे सारिएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने कि राजीनामा दिने भन्ने सल्लाह गर्न विश्वासको मत लिन निर्धारित समय सारिएको बताइएको छ ।

शाहले विश्वासको मत पाउने कठिन हुने देखिएको छ । मुख्यमन्त्री शाहलाई विश्वास मत दिने आशा गरिएका नागरिक प्रदेश सभा सदस्यहरू नागरिक उन्मुक्ति पार्टीका टीका थापा, कैलाश चौधरी र स्वतन्त्र डा. तारा जोशी काठमाडौँमै रहेकाले विश्वासको मत पाउन कठिन देखिएको हो ।

सरकार कायम रहनलाई ५२ सदस्यीय प्रदेश सभाका २७ जना सांसदको समर्थन आवश्यक पर्छ । तीन जना अनुपस्थित भएपछि अब मुख्यमन्त्री शाहका पक्षमा २४ जना मात्र रहने भएका छन् । उहाँका पक्षमा अब काँग्रेसका १८ र नागरिक उन्मुक्तिका पाँच जना मात्र रहने भएका छन् । 

यसैबिच अहिले उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा र कैलाश चौधरी आगामी सरकार गठनका सम्बन्धमा काठमाडौँमा छलफल गरिरहनुभएको छ ।