• १४ पुस २०८१, आइतबार

सामुदायिक रेडियो मदनपोखरालाई तीन लाख मुष्ठिदान

blog

रेडियोका लागि आएको रकम प्रदान गरिँदै । तस्बिर : गोरखापत्र ।

रेखीराम राना

तानसेन, चैत २१ गते । सामुदायिक रेडियो मदनपोखरा (सारेम) लाई करिब तीन लाख रुपियाँ मुष्ठिदान सहयोग प्राप्त भएको छ । अमेरिका मदनपोखरा समाजले मदनपोखरामा जन्म भई अमेरिकामा बसोबास गरेका विभिन्न व्यक्तिहरूबाट रेडियोलाई मुठिदान सहयोग भएको हो । 

समाजले रेडियोलाई दुई लाख ९२ हजार २२० सहयोग पठाएको हो । अमेरिका मदनपोखरा समाजले मनिग्राममार्फत् पठाएको उक्त रकम समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गरिएको हो । 

रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिनुभयो । २०५५ सालमा मदनपोखरा स्थापित सामुदायिक रेडियो मदनपोखराले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सवको आयोजना गरेको छ । 

अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि सम्झना भइरहने र रजत महोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको उल्लेख गर्नुभयो । रेडियोका लागि थप मुष्ठिदान रकम सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।