• २२ वैशाख २०८१, शनिबार

साइबरजन्य प्रलोभनमा नपरौँ

blog

साइबर हिंसा नियन्त्रणसम्बन्धी कार्यशालामा सहभागिहरु।

काठमाडौँ, चैत २० गते । सरुना क्षेत्री (नाम परिवर्तन) कक्षा ११ मा अध्ययन गर्दै हुनुहुन्छ । उहाँले केही महिनायतादेखि ह्वाट्स एपमा अनेक नम्बरबाट म्यासेज आएर हैरान गराएपछि त्यो नम्बर नै ब्लक गरिदिनुभयो । तर फेरि अर्को नम्बरबाट त्यसैगरी म्यासेज आउने क्रम जारी रह्यो । उहाँले भन्नुभयो, “डर लागेर मैले जवाफ दिएको छैन, कुरा पनि गरेको छैन तर जति वटा नम्बर ब्लक गरे पनि फेरि त्यसैगरी आइरहन्छ ।”

त्यस्तै, सविता राना (नाम परिवर्तन) पनि उच्च माध्यमिक तहमा नै अध्ययनरत हुनुहुन्छ । उहाँको इमो म्यासेन्जर नै ह्याक भएर अरूले चलाइरहेको छ । जसका कारण उहाँले अर्को तनाव झेलिरहनु भएको छ । महिला पत्रकारको संस्था संवाहिका समाज नेपालले सोमबार आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा उहाँहरू जस्ता विद्यार्थीले पुरुष विद्यार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा अनेक खालका सन्देश अरूले ट्याग गरेर हैरानी दिएको बताउनुभयो । 

त्यसमा जवाफ दिनुहुने वा नहुने दिनु परेमा कसरी दिने भन्नेमा अन्योल रहेको रमेश राना (नाम परिवर्तन) ले बताउनुभयो । सामाजिक सञ्जालमा जथाभाबी सेयर भइरहने फोटो, भिडियो तथा सूचना सही हो वा गलत भन्नेमा पनि नयाँ पुस्ताका किशोर किशोरीलाई थाहा नभएको सिद्धिगणेश मावि सोह्रखुट्टेका प्राचार्य केशव भण्डारीले बताउनुभयो । साइबरजन्य गतिविधिले दैनिक जीवनी र पेसागत कार्यलाई सहज बनाए पनि यसले अनेक चुनौती ल्याइरहेकाले सचेत भएर सही सूचनाको उपयोग गर्नुपर्नेमा संवाहिका समाज नेपालकी अध्यक्ष चाँदनी हमालले जोड दिनुभयो ।  

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपक बस्तीले किशोर किशोरीलाई सहजीकरण गर्दै आफ्नो सामाजिक सञ्जाल वा कुनै पनि एप्समा आएका म्यासेज खोल्दै नखोल्न, नयाँ र अपरिचित मानिसको साथी बन्ने आग्रहलाई स्वीकार नगर्न सुझाउनु भयो । उहाँ अनुसार त्यस्ता व्यक्ति आफ्नो परिचय बदलेर अनेक बहानामा ठगी गर्न र हिंसा गर्न सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । कारणवश त्यस्तो ठगी वा हिंसामा परिहाल्यो भने आफ्नो आमाबुबासँग भन्न सुझाउनुभयो । 

अभिभावकसँग डर वा अप्ठेरो लागेमा विद्यालयका शिक्षक, शिक्षिका वा मिल्ने साथीसँग भएपनि त्यस्ता कुरा भन्न पनि उहाँले सुझाउनुभयो । स्मार्ट फोनको पहुँचमा रहेका किशोरकिशोरीको कलिलो मानसिकताको प्रयोग गर्न त्यस्ता गिरोह सक्रिय रहेकाले सतर्क रहेर आफ्ना बालबालिका र छात्रछात्रालाई साइबर हिंसा, साइबर अपराधको बारेमा बारम्बार प्रशिक्षित गरिरहन पनि प्रवक्ता बस्तीले आग्रह गर्नुभयो । उहाँले त्यस्ता थुप्रै अपराधका उजुरी प्रहरीमा परेको उहाँले जानकारी दिनुभयो ।  

संस्थाका सचिव कविता थापाले सामाजिक सञ्जालमा आउने पोस्टहरूमा जथाभाबी कमेन्ट गर्दा पछि हिंसा र अपराधको मतियार हुन सक्ने भएकाले सचेत रहन सुझाउनुभयो । कार्यक्रममा महासचिव शिवा तामाङ, कोषाध्यक्ष बिनु श्रेष्ठ, सदस्यहरू सावित्री बस्नेत र मेनुका कार्कीले समन्वयात्मक भूमिका निर्वाह गर्नु भएको थियो । 

पछिल्लो समय विभिन्न नम्बरबाट इसेवा वा कनेक्ट आइपिएसको नाम लिएर चिठ्ठा परेको छ भनी पठाएको लिङ्कमा क्लिक गरेर अरूलाई पठाउनुहोस् भन्नेजस्ता स्क्याममा वयस्कसँगै किशोरकिशोरी पनि परिरहेका छन् । त्यस्तै चिठ्ठा परेकाले लिनका लागि भाडा वा ढुवानी खर्च पठाउनुहोस् भन्ने फोन कलमार्फत आवश्यक कागजपत्र मागेर नागरिकको गोप्य सामग्रीका सूचना चोरी हुने गरेका छन् । साइबर अपराधका रूपमा अनलाइन ठगी, साइबर बुलिङ, साइबर हिंसा, ह्याकिङ, अनलाइन सुरक्षा चुनौतीसँगै साइबर आक्रमण बढेको साइबर ब्युरोले जनाएको छ ।