• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा कोरोना उकालो लाग्दै

blog

गौरीफन्टा नाकामा कोरोना परीक्षण गरिंदै ।

अविनाश चौधरी

धनगढी, चैत १८ गते । सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ ।  भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको हो ।  कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् ।

वैशाख १ गते नयाँ वर्षको दिन सुदूरपश्चिममा बिसु पर्व मनाउने गरिएको छ । पर्व मनाउन घर फर्किनेहरूको सिमानाकामा चेकजाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । 

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले चैतमा अझ बढी कोरोना सङ्क्रमण देखा परिरहेको देखाएको छ । चैतको १८ गतेसम्म ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार माघमा १५ र फागुनमा ३२ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । “चैतमा कोरोना सङ्क्रमण अझ उकालो लागेको छ” निर्देशक डा. जोशीले भन्नुभयो । 

पछिल्लो एक सातामा ३० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना देखिएका सबै भारतबाट फर्किएका हुन् । नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ । अहिले बढी केस देखा पर्न थाले पनि कोरोना नियन्त्रणमा सरोकारवालाको चासो देखिएको छैन । 

नाकामा अहिलेसम्म एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिरहेको जनाउँदै गौरीफन्टा नाकास्थित हेल्थडेस्कमा कार्यरत अहेब गणेश साउँदले परीक्षण किट अभाव भइरहेको जनाउनुभयो । 

“केस बढिरहेका बेला हामीकहाँ किट सीमित छ” उहाँले अगाडि थप्नुभयो, “यद्यपि, माथिबाट निर्देशन र अन्य निकायबाट कुनै सहयोग भएको छैन ।” यसअघि, कोरोना महामारीका बेला धेरैजसो सहयोगी निकायले कोरोना परीक्षण र नियन्त्रणका लागि सहयोग गरेका थिए । 

भारतको जोखिम क्षेत्रबाट आएका र सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण भएकाहरूको नाकामा परीक्षण गर्ने गरिएको जनाइएको छ । सामान्य खालको लक्षण भएकाहरूको परीक्षण गर्दा कोरोना पुष्टि भइरहेको अहेब साउँदले बताउनुभयो । उहाँले कोरोना पुष्टि भएकालाई अहिलेसम्म होम आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको उल्लेख गर्नुभयो । 

कोरोना सङ्क्रमण उकालो लागेपछि रोकथामको कार्य पनि भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना रोकथाम गर्न तयारी अवस्थामा रहेको निर्देशक डा. जोशीको भनाइ छ । निगरानी, परीक्षण गर्ने कार्य पनि भइरहेको उहाँले बताउनुभयो ।