• २७ वैशाख २०८१, बिहिबार

अधिकांश उजुरी मेलमिलापबाटै समाधान

blog

भद्रपुर (झापा), चैत १७ गते । झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरूपण भएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा समाधान भएका ४७ मध्ये ४० उजुरीको मेलमिलापका माध्यमबाट गरिएको न्यायिक समितिले जनाएको छ ।

समितिका संयोजक एवम् भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले विवाद समाधान भएका ४७ उजुरीमध्ये ४० वटाको मेलमिलापका माध्यमबाट समाधान गरिएको जानकारी दिनुभयो । “नगरपालिकामा जग्गा मिचेको, पतिपत्नीबिचको झगडा, ज्याला मजदुरी नदिएकोलगायत विषयमा प्रमुखमा उजुरी आउने गरेका छन्”, उहाँले भन्नुभयो । उहाँले उजुरी परिसकेपछि दुवै पक्षलाई जितको महसुस हुनेगरी एकआपसमा समझदारी कायम गरी खुसी बनाएर पठाउने गरिएको बताउनुभयो । 

चालु आवमा दर्ता भएका ६७ उजुरीमध्ये ४७ वटाको निर्णय तथा मेलमिलापका माध्यमबाट विवाद समाधान गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) मा विभिन्न १३ वटा विवादको निरूपण गर्ने अधिकार र दफा ४७ (२) मा विभिन्न ११ वटा विवादमा मेलमिलापका माध्यमबाट मात्र विवादको निरूपण गर्ने अधिकारको व्यवस्था गरिएको छ । रासस