• १३ साउन २०८१, आइतबार

हिल्सा नारा सडक तीन महिनादेखि अवरुद्ध

blog

नारा क्षेत्रमा सडकमा जमेको हिउ । तस्बिर : गोरखापत्र

राजन रावत 

हुम्ला, चैत १७ गते । कर्णाली कोरिडोरको सिमिकोट हिल्सा सडक खण्डको यारी नारा हुँदै हिल्सा सडक  तीन महिनादेखि अवरुद्ध हुँदै आएको पाइएको छ । गत माघमा परेको हिमपात हालसम्म सरोकारवाला पक्षले पन्छाएर सडक सुचारु गर्ने कार्यमा ध्यान नदिएको कारण सडक अवरुद्ध भएको हो । 

नाम्खा गाउँपालिका–५ का स्थानीय सोनाम लामाले गत माघदेखि यारी हिल्सा सडक अवरुद्ध हुँदै आएकोमा हालसम्म सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले सडकमा जमेको हिउँ जेसिवी वा डोजर लगाएर पन्छाउने कार्य गाउँपालिका वा हिल्सा सडक आयोजनाले नगरेको कारण सडक लामो समयसम्म अवरुद्ध हुँदै आएको बताउनुभयो । 

सडकमा जमेको हिउँले अवरुद्ध भएपछि हिल्साका सुरक्षाकर्मी र स्थानीयलाई आउजाउमा समस्या भएको हो । हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (विओपी) सशस्त्र प्रहरीका प्रहरी निरीक्षक प्रमोद विष्टले ४६ सय मिटर अग्लो नारा क्षेत्रको एक किलोमिटर सडकमा हिउँ जमेको कारण सडक सुचारु हुन सक्ने अवस्था नरहेको बताउनुभयो । 

उहाँले उक्त खण्डमा दुईदेखि तीन फिट हिउँ जमेको कारण मेशिनको प्रयोग बिना सडक सुचारु गर्न नसकिने बताउनुभयो । ‘‘हिल्सातर्फको सडकमा ठाउँ-ठाउँमा हिम पहिरो जाँदा धेरै स्थानमा सडक समेत भत्किएको छ । हाल हिल्साबाट सुरक्षाकर्मी हिँडेर नारा क्षेत्रको गस्ती गर्न पैदल हिँडेर आउने गरेको भएपनि यातायात सेवा सुचारु गर्न नसकिने अवस्था छ,’’ उहाँले भन्नुभयो । 

सडकमा जमेको हिउँ पन्छाउने कुरनका लागि नाम्खा गाउँपालिकाले हिल्सा सिमिकोट सडकको जिम्मा भनेर पन्छिने गरेको छ भने आयोजनाले तत्काल कुनै सडकमा जमेको हिउँ फाल्ने कार्य नभएको जनाएको छ ।

आयोजनाको योजना प्रमुख बेलबहादुर नेपालीले सो खण्डको सडक हाल पनि निर्माणाधीन अवस्थामा रहेको कारण निर्माण कम्पनीले हिउँ फाल्ने कार्यका लागि पत्राचार गर्ने बताउनुभयो । 

मेशिन लगाएपछि मात्र सडकमा जमेको हिउँ पन्छाउन सम्भव रहेको छ । अन्यथा आगामी जेठ महिनासम्म पनि सो सडक सुचारु हुने अवस्था रहेको छैन । यस वर्ष मात्र नभएर बर्सेनि रूपमा नारा क्षेत्रमा जमेको हिउँ मेशिनबाट पन्छाउने कार्य हुँदै आएको छ ।