• १३ साउन २०८१, आइतबार

दक्षिणकाली सडक बन्द

blog

दक्षिणकाली सडकको मकवानपुरतर्फ सिस्नेरी खण्डमा सडक स्तरोन्नतिकोे काम हुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १७ गते । हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक शनिबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकको मकवानपुरतर्फ सिस्नेरी खण्डमा सडक स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो । 

उक्त सडक खण्डमा निर्माण कार्य भइरहेको हुँदा ग्रेडिङ, सब बेस, बेस, ढलान तथा नाली निर्माणलगायत कालोपत्रको तयारी भइरहेकाले आवागमन बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ का वडा अध्यक्ष प्रताप भोम्जनले जानकारी दिनुभयो । उहाँले कालोपत्रको कार्य सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताउनुभयो । 

यसअघि यही चैतको पहिलो साताबाट दक्षिणकाली-छैमले-सिस्नेरी-कुलेखानी सडकको सिस्नेरी खण्डमा निर्माण कार्य सम्पन्न नभएसम्मको लागि यातायात बन्द गरिएको थियो । निर्माण कार्य सम्पन्न नहुँदै हेटौँडा-काठमाडौँ आवतजावत गर्ने टाटा सुमोलगायतका साधनहरू आवागमन गर्न थालेपछि तोकिएको समयसिमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्रे नभएसम्मका यातायात आवागमन बन्द गरिएको वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।