• २७ वैशाख २०८१, बिहिबार

‘महोत्तरी कारागार भवन जीर्ण’

blog

महोत्तरी, चैत १६ गते । महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिका सदस्यले कारागार प्रशासनसहितको सहभागिता भएको अनुगमनमा महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय पाइएको बताएका छन् । 

समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव र गोमा लाभ सापकोटा, समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागारको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको सांसद यादवले बताउनुभयो ।

“कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी-थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न निकै सकस रहेछ”, सांसद यादवले भन्नुभयो, “कोल्टे फेर्न पनि नपाइने गरी कैदी-थुनुवा बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त दयनीय देखियो ।” एक सय ३५ कैदी-थुनुवा राख्ने क्षमताको कारागारमा अहिले पाँच सय ८४ जना रहेका कारागार प्रशासनले जनाएको छ । केही साता पहिले कैदीथुनुवाको सङ्ख्या छ सय माथि रहेको अभिलेखले देखाएको उहाँले बताउनुभयो । 

कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनको कुनै सुविधा छैन । औषधोपचार पनि चाहिएका बेला पाउन नसकिएको कैदी-थुनुवाले बताएका सांसद यादवको भनाइ छ । पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइ जोखिमपूर्ण देखिएको अर्का सदस्य सापकोटाले बताउनुभयो । वि.सं.१९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा निर्माण गरिएको भवनमा कारागार सञ्चालन छ । “जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन्, कतै छतको प्लास्टर उप्किएर झर्दो रहेछ ”, सांसद सापकोटा भन्नुहुन्छ, “जतिखेर पनि कैदी-थुनुवा त्रासमा रहने गरेका पाइयो ।” 

सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने सांसद सापकोटा बताउनुहुन्छ । कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि पालो पर्खनुपर्छ । सरसफाइको कमीले अधिकांश कैदी÷थुनुवामा चर्मरोगको समस्या छ । धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी÷थुनुवा बढेका कारागार प्रशासनले जनाएको छ । कुल कैदी-थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउनुहुन्छ । कारागारको जलेश्वरमा छ बिघा ११ कट्ठा जग्गा भए पनि सो ठाउँमा नयाँ कारागार भवन निर्माण हुन सकेको छैन । रासस