• १५ वैशाख २०८१, शनिबार

जलवायु परिवर्तनको असरलाई कम गर्न आवाज उठायौँ: सभामुख घिमिरे

blog

काठमाडौं, चैत १६ गते ।सभामुख देवराज घिमिरेले अन्तर व्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ । 

अन्तर व्यवस्थापिका सङ्घको १४८ औँ सभामा सहभागी भई स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताउनुभयो । उहाँले १४८ औँ अन्तर व्यवस्थापिका सङ्घको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्त्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भएको बताउनु भयो । उहाँले सभामा १४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व रहेको बताउनु भयो । उहाँले नेपालले सभामा जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको बताउनु भयो ।

नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको बताउनु भयो । सांसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्ने ? क्षेत्रीय तहका सम्भव भएका भेलाहरू नेपालले पनि आयोजना गर्न सक्ने विषयमा छलफल गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१४८ औँ अन्तर व्यवस्थापिका सङ्घको सभा यसपालि स्विजरल्याण्डको जेनेभामा यसको आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । त्यसमा नेपालको तर्फबाट हामीले प्रभावकारी ढङ्गबाट सहभागिता जनाएका छाैँ । हामीले एउटा लामो समयदेखि त्यसको सदस्य राष्ट्र र सदस्य संसद्को हिसाबले भूमिका निर्वाह गर्दै आएका छाैँ । यस वर्ष पनि त्यही ढङ्गबाट हामीले यसलाई सफलताको साथ सम्पन्न गरेका छौँ । १४८ औँ अन्तर व्यवस्थापिका सङ्घको सभामा संसदहरुको डिप्लोमेसी अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्त्व छ ? भन्ने विषयमा आधारित भएर छलफल भयो ।

१४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व गरेर सभा सञ्चलन भयो । ५ दिन चलेको सभामा विभिन्न ग्रुपहरूमा छलफल भए । नेपालबाट पनि आफ्नो आफ्नो ठाउँमा सक्रियताका साथ भाग लिनुभयो । नेपालको तर्फबाट अहिले विश्वमा देखापरिरहेका अनेक प्रकारका भौगोलिक, क्षेत्रीय तनावहरू र अनेक ढङ्गबाट शान्तिमा देखा परेका अप्ठ्यारा र विज्ञानमा भएका प्रगतिहरूले पार्ने असरहरू यी सबै कुराहरूमा जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका कसरी प्रभवकारी बनाउने भन्ने विषयमा छलफल भए । आगामी दिनमा यसलाई प्रभावकारी ढङ्गबाट लैजाने कुरा भएको छ ।

नन एलाइमेण्ट मोमेण्टमा पनि हामीले भाग लियौँ । त्यसमा पनि अहिले देखा परेका चुनौती, खास गरी जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भयो । सांसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्न सकिन्छ र क्षेत्रीय तहका सम्भव भएका भेलाहरू नेपालले पनि आयोजना गर्न सक्ने विषयमा छलफल गरियो ।’

सभामुख घिमिरेले अब संसदीय गतिविधिहरू तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढिरहेको बताउनुभयो ।