काठमाडौं, चैत १५ गते । बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परिषद् (एसइई) मा किरियापुत्रीदेखि, बालबन्दी तथा विभिन्न उमेर समूहका विद्यार्थी उत्साहपूर्वक सहभागी भएका छन् ।
देशभर सञ्चालन भएको एसइई परीक्षामा सहभागी हुन पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट किरियापुत्री दाजुभाइ एसइईमा सहभागी भएका हुन्।
यस्तै, बाँकेको दुई वटा बाल सुधार गृहमा रहेका ४६ जना बालबन्दी परीक्षामा सहभागी भएका छन् ।
जिल्लाको डडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बाल सुधार गृहमा रहेका ४६ विद्यार्थीले एसइई दिएका हुन् ।
यस्तै, सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै एसइई दिएका छन् ।
आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि हिरासतमा रहेका किशाेर हरिवन नगरपालिका ९ स्थित ज्ञानज्योति आवासीय विद्यालयका प्रशिक्षार्थी हुन् ।
यसैगरी, खोटाङमा एसइईमा नियम विपरीत कार्य गर्ने विश्वज्योति माविका केन्द्र अध्यक्ष माधव प्रसाद ठाकुर कारवाहीमा परेका छन् ।
नियम विपरीत परीक्षार्थीलाई सहभागी गराएकाले ठाकुरलाई केन्द्र अध्यक्षबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।