• १५ वैशाख २०८१, शनिबार

गुल्मीबाट ५३ जना परीक्षार्थी अनुपस्थित

blog

परीक्षामा सहभागी विद्यार्थीहरु ।

रमेश विश्वकर्मा

गुल्मी, चैत १५ गते । गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन ५३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । यस जिल्लाका चार हजार ९७ परिक्षार्थीमध्ये ५३ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।

इकाई प्रमुख मरासिनीका अनुसार आजदेखि सुरु भएको एसइईमा विभिन्न १२ परीक्षा केन्द्रबाट नियमिततर्फ ४१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । जसमा छात्रा २१ जना र छात्र २० जना रहेका छन् । ग्रेडवृद्धितर्फ १२ जना परीक्षार्थी अनुपस्थित छन् । यस जिल्लाका १२४ सामुदायिक विद्यालय र १८ संस्थागत विद्यालयका दुई हजार २९ जना छात्रा र दुई हजार १५ जना छात्रले यहाँ रहेका विभिन्न २८ परीक्षा केन्द्रमा सहभागिता भएका उहाँले बताउनुभयो ।

परीक्षा सञ्चालनका लागि २८ जना केन्द्राध्यक्ष, ३० जना सहायक केन्द्राध्यक्ष, १६५ जना निरीक्षक, ५६ जना सहायक कर्मचारी र करिब १७० जना सुरक्षाकर्मी परिचालित छन् । पहिलो दिनको परीक्षा शान्त वातावरणमा व्यवस्थित र मर्यादित रूपमा सम्पन्न भएको इकाई प्रमुख मरासिनीले बताउनुभयो । यहाँका चार जना परीक्षार्थीले लेखन सहयोगी राखेका थिए । जसमा दुई जना दृष्टिविहीन, एक जनाको दायाँ हात नभएको र एक जनाको दायाँ हात घाइते भएको उहाँले बताउनुभयो ।

शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेलले रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुट्टाले लेखेर परीक्षा दिनुभयो । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय केन्द्रमा सबैभन्दा बढी परीक्षार्थी सहभागी छन् । जहाँ २५८ जना परीक्षार्थी रहेका छन् । अस्लेवास्थित जनता माध्यमिक विद्यालयमा सबैभन्दा कम परीक्षार्थी सहभागी छन् । जहाँ ७९ जना परीक्षार्थी सहभागी रहेका उहाँले बताउनुभयो ।