• १३ साउन २०८१, आइतबार

छोराको न्वारानमा गाईबस्तुलाई नुन र पराल

blog

गौशालामा रहेका गाईवस्तुका लागि नुन र परालको जोहो गर्न रकम हस्तान्तरण गरिँदै । तस्बिर : गोरखापत्र

गोकर्ण पौडेल 

तुलसीपुर, चैत १४ गते । सन्तान प्राप्तिको खुसीमा कसैले विशेष भोजको आयोजना गर्छन् त कसैले गाउँभर मिठाइ लड्डु बाँड्दै हिँड्छन् । तर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का एक जोडीले छोराको न्वारानमा  गौशालामा रहेका गाईबस्तुका लागि नुन र परालको जोहो गर्नुभएको छ । 

हाल अमेरिकामा बस्दै आएका देवराज भण्डारी र रेखा केसी भण्डारीले सन्तान प्राप्तिको खुसीमा शान्तिनगर गाउँपालिका वडा नम्बर २ बाघमारेमा रहेको गौशालामा रहेका गाईबस्तुहरूका लागि नुन र पराल प्रदान गर्नुभएको हो ।

देवराज भण्डारीले त्यहाँ रहेको गाईबस्तु भोक भोकै मर्न थालेको खबर सुनेपछि थोरै भएपनि राहत मिलोस् भनेर सहयोग गरेको बताउनुभयो । उहाँका साथी एकराज भण्डारी र प्रेम तिवारीमार्फत  शान्तिनगर गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली र गौशाला व्यवस्थापन समितिका अध्यक्ष डम्बर वलीलाई नुन र पराल खरिदका लागि रकम हस्तान्तरण गर्नुभएको हो । 

२०७५ सालमा पालिकाले त्यस क्षेत्रमा रहेका छाडा चौपायाले किसानहरूको अन्नबाली खाने थालेपछि गौशाला सञ्चालनमा ल्याएको थियो । गौशाला सुरु गर्दा ४० वटा गाईबस्तु थिए भने अहिले एक सय पचास वटा रहेका छन् ।

वडाध्यक्ष सुनिल वलीका अनुसार गौशालाको रेखदेख गर्नका लागि पालिकाले तीन जना जनशक्तिको व्यवस्थापन गरेको छ । समितिका अध्यक्ष डम्बर वलीले गोमूत्र र गोबरलाई कम्पोस्ट मल बनाई बिक्रीको प्रबन्ध गर्न थालिएको बताउनुभयो ।