• १३ साउन २०८१, आइतबार

सञ्चालनमा आयो नेपालगन्जको पौडी पोखरी

blog

नेपालगन्ज रङ्गशालामा रहेको पौडी पोखरी । तस्बिर : गोरखापत्र

कमल खत्री

नेपालगन्ज, चैत १३ गते । गर्मी मौसम सुरु हुने बित्तिकै नेपालगन्ज लगायत तराईका जिल्लाहरूको जनजीवन प्रभावित हुने गर्दछ । नेपालगन्जमा गर्मी बढ्न सुरु भएसँगै सरकारी स्तरबाट निर्माण गरिएको पौडी पोखरी सञ्चालनमा आएको छ । 

नेपालगन्ज रङ्गशालामा रहेको पौडी पोखरी सञ्चालनमा आएपछि दैनिक पौडी खेल्न आउनेको सङ्ख्या बढ्दै गएको छ । अहिले दैनिक रूपमा ५० भन्दा बढी सर्वसाधारण पौडी खेल्न आउने गरेको बताउनुहुन्छ साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्ज प्रमुख महेश चन्द । चैत १ देखि सञ्चालनमा आएपछि क्रमशः पौडी खेल्न आउनेको सङ्ख्या बढिरहेको उहाँले जानकारी गराउनुभयो । 

पछिल्लो समय नेपालगन्जमा पौडी पोखरीमा आएर खेल्नेहरूको सङ्ख्या बढ्दै गएको चन्दले बताउनुभयो । नेपालगन्ज रङ्गशालामा भएको पौडी पोखरी स्तरीय भएकोले सर्वसाधारणको रोजाइमा पर्ने गरेको चन्दको  भनाई छ । उहाँले भन्नुभयो, ‘‘नेपालगन्ज रङ्गशालाको पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको हो । यहाँ सर्वसाधारण र खेलाडीहरूले अभ्यास गर्न सहज छ । त्यसैले पनि धेरै रोजाइमा रङ्गशालाको पौडी पोखरी परेको हो ।’’ 

राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०५६ सालदेखि नेपालगन्जमा पौडी पोखरीको निर्माण कार्य सुरु गरेको थियो । तर, पौडी पोखरी भने नेपालगन्जमा २०७६ सालमा भएको आठौँ राष्ट्रिय खेलकुद पश्चात् निर्माण कार्य सम्पन्न भएको थियो । साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जले हाल पौडी पोखरीको व्यवस्थापनको कार्य गरिरहेको छ । 

पौडी पोखरीको व्यवस्थापनमा खटिएका कर्मचारी र व्यवस्थापन खर्चलाई धान्न सक्ने गरी शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख चन्दले बताउनुभयो । उहाँले भन्नु भयो, ‘‘हरेक सिजनमा पौडी पोखरी व्यवस्थापनमा लाखौं रुपैयाँ खर्च हुन्छ । व्यवस्थापनलाई सहयोग होस भनेर हामीले थोरै शुल्क राखेका छौँ । यसले पौडी पोखरी सञ्चालनमा सहयोग पुग्नेछ ।’’

कार्यालय प्रमुख चन्दका अनुसार सर्वसाधारणहरूको लागि प्रतिव्यक्ति दुई सय र विद्यार्थीहरूको लागि एक सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । राष्ट्रिय खेलाडीहरूको लागि एक सय र अन्तर्राष्ट्रिय खेलाडीको लागि नि:शुल्क  व्यवस्था गरिएको पनि चन्दले बताउनुभयो ।

पौडी पोखरीको व्यवस्थापनमा नियमित रूपमा तीन जना कर्मचारीले काम गरिरहेका छन् । पौडी पोखरीमा सङ्घ र क्लबहरूले प्रतियोगिता आयोजना गरे सहुलियत दरमा उपलब्ध गराउने चन्दले बताउनुभयो ।