• १३ साउन २०८१, आइतबार

होरीमय बन्दै रानाथारू बस्ती

blog

अविनाश चौधरी

धनगढी, चैत १३ गते । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा बसोबास रहेको  अल्पसङ्ख्यक रानाथारू समुदायमा ‘मरी होरी’ सुरु भएको छ । 

एक महिनासम्म ‘जिन्दा होरी’ मनाएको यो समुदायले होलिका दहनपछि सोमबारबाट मरी होरी मनाउन थालेको हो । मरी होरी आठ दिनसम्म मनाइने जनाइएको छ । एक महिना आठ दिनसम्म होरी पर्व मनाउने रानाथारूको होरी गत फागुन पूर्णिमाबाट सुरु भएको थियो । आफ्नो समुदायले जिन्दा र मरी गरेर दुई प्रकारले होरी पर्व मनाउने गरेको नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाले बताउनुभयो । 

उहाँका अनुसार जिन्दा होरीको समयमा रातको समयमा पधना, भलमनसा, चाकरसहित अन्य स्थानीयको घरमा होरी नाच नाचेर रमाइन्छ । यो बेला रङ, अबिरविहीन होरी रहने गरेको छ । होलिका दहनपछि सुरु भएको मरी होरीका बेला भने रङ, अबिर खेलेर रमाउने र दिउँसो होरी नाच नाच्ने गरिन्छ । यसै गरी फगुहा दिने चलन रहेको छ । भिनाजुले सालीलाई रङ, अबिर दलेर केही उपहार दिनुलाई फगुहा दिनु भन्ने गरिन्छ । त्यसै गरी साला र जेठानकी श्रीमतीलाई पनि रङ, अबिर दलेर फगुहा दिने प्रचलन राना समुदायमा रहेको छ । 

मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ । गाउँभरिका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन गरिन्छ । खख्डेहरा फुटाएको दिन आफ्ना आफन्त, मित, मितिनी, इष्टमित्रलाई बोलाएर हट्कना (मिठा मिठा खानाको परिकार) खुवाउने चलन रहेको छ । खख्डेहरा रानाथारू होरीको सबैभन्दा महìवपूर्ण दिन हो । यस दिन प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । 

खख्डेहरा फुटाएर होरी पर्वको समापन गर्ने गरिए पनि होरी सेलाउने कार्य भने चराइँमा हुने गरेको बताइएको छ । चैत महिनामा चराइँ हुने गर्दछ । नेपाल रानाथारू समाजका पूर्वअध्यक्ष रानाले असत्यमाथि सत्यको जित भएको खुसियालीमा रानाथारू समुदायले रमाई रमाई होरी पर्व मनाउने गरेको बताउनुभयो । समुदायको प्रत्येक गीत, कथा, परम्पराहरू कृष्णलीला चरित्र, रामायण र महाभारतसंग जोडिएको उहाँको भनाइ छ । रानाथारू बस्ती होरीको गीत र नाचगानले अचेल  गुञ्जायमान बनेको छ । होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू गाउँ होरीमय बनेको रानाथारू समुदायका युवा नारायण रानाले बताउनुभयो ।