• १३ साउन २०८१, आइतबार

असिना–पानीले बाली नष्ट

blog

रघुगङ्गा गाउँपालिका –४, दग्नाममा परेको असिना पानी । तस्बिरः साधन घर्ती

साधन घर्ती  

म्याग्दी (दरबाङ), चैत १२ गते । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । 

सोमबार जिल्लाको रघुगङ्गा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ ।

त्यसैगरी असिना पानीले केराखेतीमा पनि असर गरेको कृषकको भनाइ छ । खेतमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भगवती ऋषिनचौतारीका किसान कृष्णप्रसाद शर्माले बताउनुभयो ।

‘‘लामो समयसम्मको खडेरीका कारण हिउँदे बाली सुकेको थियो । त्यसमाथि असिना पानीले नाश गरेपछि थप समस्या भयो’’ उहाँले पीडा पोख्दै भन्नुभयो । सोमबार रघुगङ्गा गाउँपालिकाको अधिकांश ठाउँमा असिना पानी पर्दा जिल्लाका अन्य पालिकामा भने सामान्य छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।