दोलखा समाचारदाता
दोलखा, चैत १२ गते । ‘कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल’ नामको गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा दोलखाको बिगु र गौरीशङ्कर गाउँपालिकामा करिब चार करोड रुपियाँको लगानीमा तीन वटा झोलुङ्गे पुल र ७५ लाख रुपियाँभन्दा बढीको लगानीमा दुई वटा खानेपानी योजना निर्माण भएका छन् ।
सो संस्थाले एक करोड २६ लाख रुपियाँमा बिगु गाउँपालिका–१ र गौरीशङ्कर गाउँपालिका–९ जोड्ने गोङ्गरस्थित तामाकोशी नदीमा निर्माण गरिएको १०५ मिटर लामो झोलुङ्गे पुलबाट करिब पाँच सय घरपरिवार लाभान्वित भएका छन् । विद्यालय र स्वास्थ्य चौकी जान आउन एक घण्टाको बाटो छोटिएको छ । अब विद्यालय, स्वास्थ्य चौकी जान आउन सहज भएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो । त्यसै गरी संस्थाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गनजिकैको गोङ्गर खोलामा ७२ मिटर लम्बाइको झोलुङ्गे पुल ८० लाख रुपियाँको लागतमा र गौरीशङ्करको नाजिमटार–खारे जोड्ने ११२ मिटर लामो झोलुङ्गे पुल एक करोड १६ लाख रुपियाँ लगानीमा निर्माण गरिदिएको छ ।
वडा नम्बर १, स्यालुमा संस्थाको ७५ लाख आठ हजार २५९ र उपभोक्ता जनश्रमदानबाट छ लाख ५८ हजार गरी कुल ८१ लाख ६६ हजार २५९ रुपियाँ लगानीमा व्यक्तिगत धारा ७८ र ३५३ परिवार लाभान्वित हुने गरी तीन वटा सामुदायिक धारा, मिटरजडित धारा ८१, पाइपलाइनलगायतका संरचना छन् । गौरीशङ्कर–८, भुमेथान र हुर्पुङमा ८० लाख रुपियाँ लगानीमा ६१ वटा खानेपानीका धारा अर्को वर्ष निर्माण हुने संस्थाका पुल विभाग प्रमुख सुन्दरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिगु र गौरीशङ्कर गाउँपालिकामा थप दुई वटा झोलुङ्गे पुल र दुई वटा खानेपानी आयोजना निर्माण गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । संस्थाले विगत ५५ वर्षअघिदेखि देशका विभिन्न जिल्लामा पुल, खानेपानी, लघुजलविद्युत् आयोजनाका साथै कृषि तथा स्वास्थ्यमा समेत लगानी गर्दै आएको बताइन्छ ।