• १३ साउन २०८१, आइतबार

गोरखापत्र समाचार प्रभाव

बालकको उपचारका लागि दुई लाख सहयोग

blog

आइसियुमा उपचाररत १२ वर्षीय बालक अरुण ऐरी ।

बैतडी समाचारदाता

बैतडी, चैत १२ गते । आर्थिक सहयोगको अभावमा समयमै उपचार नपाउँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएका १२ वर्षीय बालकको उपचारका लागि दुई दिनमा करिब दुई लाख रुपियाँ सहयोग जुटेको छ ।

सो विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि यत्तिको सहयोग जुटेको पीडित बालकका आफन्तले बताएका हुन् । सिगास गाउँपालिका–१, अङ्डेगाडाका अरुण ऐरीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । 

सोसम्बन्धी समाचार चैत ५ गते गोरखापत्रमा प्रकाशित भएपछि एक सय जना स्थानीय मनकारीबाट एक लाख ८० हजार र भारतबाट २० हजार गरी दुई लाख रुपियाँ सहयोग जुटेको हो । 

बालकको उपचारका लागि बुधबार पनि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको बालकका आफन्तले बताएका छन् । केही हप्ताअघि बालकको तिघ्रामा घाउ (गानो) भई उच्च ज्वरो आएको थियो । 

अस्पताल जाने खर्च नहुँदा जङ्गली जडीबुटी पिसेर घरमै उपचार गराइरहेका बालकलाई छरछिमेकी मिलेर डडेलधुरा अस्पताल पु¥याएका हुन् । त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरिएको थियो । 

उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएका बालकको रगतमा सङ्क्रमण भई स्पाइसिसका कारण किड्नी र कलेजोमा सङ्क्रमण फैलिएको चिकित्सकले बताएका छन् ।

बालकको फोक्सोमा निमोनियासमेत देखा परेकाले आइसियुमै राखेर थप उपचार भइरहेको डा. रवीन्द्र भट्टले बताउनुभयो । बालकका बुवा बलदेव ऐरीले मजदुरीका आफू भारतमा रहेका बेला बिरामी भएको छोरोलाई समयमै अस्पताल पुर्‍याउन नसकिएको बताउनुभयो । उपचारका लागि मनकारीले आर्थिक सयोग जुटाइदिए पनि  बालकको स्वास्थ्यमा आशा गरे अनुसार सुधार हुन नसकेको उहाँले पीडा सुनाउनुभयो ।