बुटवल समाचारदाता
बुटवल, असार ३१ गते । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक उद्घाटन गर्दै प्रदेशको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताउनुभयो । मन्त्री सारूले अस्पतालमा ‘स्वचालित ल्याब रिपोर्ट डिस्प्याच’ को समेत शुभारम्भ गर्नुभयो । अस्पतालमा स्थापना गरिएको म्यामोग्राफी सेवाले महिलाको स्तन क्यान्सरसम्बन्धी रोगको पहिचान तथा उपचारमा ठुलो सफलता मिल्ने अपेक्षा गरिएको छ । स्वचालित ल्याब रिपोर्ट डिस्प्याच मेसिनबाट सेवाग्राहीले आफैँ सम्पूर्ण रिपोर्ट बुझ्न पाउने भएका छन् ।
अस्पतालमा सेवाको शुभारम्भपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री सारूले स्वास्थ्य सेवालाई सबैको पहुँचमा विस्तार गर्ने सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । सहज रूपमा जनताले स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने बताउँदै उहाँले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो अवधिमा गर्दै गएका सुधार तथा सेवामा विशिष्टीकरणले जनविश्वास बढ्दै गएको उल्लेख गर्नुभयो । प्रदेशका जनताको स्वास्थ्य सेवाप्रति सरकार गम्भीर रहेको बताउँदै उहाँले विकट क्षेत्रका तथा आधारभूत तहका स्वास्थ्य संस्थामा समेत चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरी पहुँच विस्तारको योजनामा रहेको बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारले खटाएको जुनसुकै ठाउँमा गएर काम गर्न आग्रह गर्दै उहाँले जनताको सेवाका लागि विधिमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको सेवा विस्तारका लागि निरन्तर प्रयत्नशील भएको बताउनुभयो । उहाँले प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि आवश्यक समन्वय गरी सेवालाई विशिष्टीकृत गर्ने र सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनका लागि विकास समिति प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । अस्पतालमा शुभारम्भ गरिएका नयाँ सेवाबारे जानकारी गराउँदै मेडिकल सुपेरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले सेवालाई विशिष्टीकृत गर्ने सवालमा उल्लेख्य प्रगति हासिल हुँदै गएको दाबी गर्नुभयो ।
उहाँले अस्पतालमा पछिल्लो एक वर्षको अवधिमा विभिन्न सेवा विस्तार गरिएको बताउनुभयो । उहाँले सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत व्यवस्थापन महाशाखाको करिब दुई करोड ८० लाख लागतमा म्यामोग्राफी मेसिन खरिद गरी जडान गरिएको जानकारी दिनुभयो । इटालियन प्रविधिको यस मेसिनले स्तनको धेरै कोणबाट लगातार एक्सरे निकाल्नुका साथै यसलाई कम्प्युटर माध्यमबाट थ्रिडी स्वरूपमा पनि देखाउँछ, जसले गर्दा रोग पहिचान गर्न सजिलो हुन्छ ।