• ३१ असार २०८२, मङ्गलबार

नमुना अटो भिलेजको नयाँ स्वरूप

blog

बुटवल समाचारदाता

बुटवल, असार ३१ गते । सरसफाइको अभावमा सधैँ फोहोर र दुर्गन्धित हुने बुटवलको मैनाबगरस्थित नमुना बुटवल अटो भिलेजले स्वरूप परिवर्तन गरेको छ । आवश्यक पूर्वाधार निर्माणको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बुटवलस्थित पहिलो नमुना अटो भिलेज अहिले व्यवस्थित बनेको छ । 

सङ्घीय सरकारको आठ करोड रुपियाँ बजेटमा बुटवलको मैनाबगरस्थित बुटवल अटो भिलेजमा अहिले धमाधम निर्माणको काम भइरहेको छ । अटो भिलेजको मुख्य सडकसँगै भित्री सडकमा पक्की ढलानको काम र व्यवस्थित नाली निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

बुटवल अटो इन्जिनियरिङका अध्यक्ष प्रेम गौचनले लामो समयदेखि अस्तव्यस्त रहेकोमा अटो भिलेजले नयाँ स्वरूप पाएको बताउनुभयो । उहाँले निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको बताउँदै अबको एक महिनाभित्रैमा पूर्वाधार निर्माणको सबै काम सम्पन्न हुने बताउनुभयो । 

पहिले सडक पक्की नहुँदा गर्मीयाममा हावाहुरीका कारण उक्त क्षेत्र धुलोले भरिने गरेको र काम गर्ने वातावरणसमेत नहुने अवस्था रहेको प्रेमबहादुर फौदारले बताउनुभयो । मैनाबगर प्रवेशद्वारदेखि रामएकवाल बडी कारखाना–कजवे हुँदै जितगढी निस्किने मुख्य सडक ३० फुट रहेकोमा अहिले विस्तार गरी ५४ फुट बनाइएको छ । ढलान गरिएको मुख्य सडक क्षेत्र अहिले सफा र सुन्दर भएको छ । 

त्यसै गरी सडकको सबै भित्री सडकसमेत ढलान गरी व्यवस्थित भएको छ । विसं २०५७ सालमा बुटवलको राजमार्ग चौराहा, मिलन चोक, ट्राफिक चोकलगायतका क्षेत्रमा छरिएर रहेका अटो व्यवसायीलाई एकीकृत गरी व्यवस्थित गर्ने भन्दै बुटवलस्थित मैनाबगरमा सारिएको थियो । बुटवल अटो भिलेजमा करिब आठ सय व्यवसायी रहेका छन् भने १० हजार जनाले रोजगारी पाएका छन् । 

अटो भिलेज क्षेत्रमा सडक निर्माणको काम करिब सम्पन्न भएकाले अब नाली निर्माणको काम पूरा भएपछि बुटवल अटो भिलेजले नयाँ स्वरूप पाउने व्यवसायीको भनाइ छ । 

अटो भिलेजका व्यवसायी पशुपति भट्टराईले पहिले सडक पूर्वाधारको अभावका कारण बर्खामा पानी जम्ने समस्या रहेकोमा अहिले भने सडक र नाली निर्माणले अटो भिलेजले नयाँ स्वरूप पाएको बताउनुभयो । सडक र नाली निर्माण नहुँदा बर्सौंदेखि सास्ती खेप्दै आएको अटो व्यवसायी उत्साहित भएका छन् ।