• ३१ असार २०८२, मङ्गलबार

बोक्चे र भिगौँडाको सडक स्तरोन्नति

blog

हुम्ला समाचारदाता 

हुम्ला, असार ३१ गते ।  कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१, बोक्चे र भिगौँडाको सडक स्तरोन्नति गरिएको छ । सेनाले कडा चट्टानी र अग्लो भिर विस्फोट गरेर सडक स्तरोन्नति गरेको हो । असजिलो र सडकको ग्रेड नमिलेको बोक्चे र भिगौँडा क्षेत्रको सडक स्तरोन्नति गर्ने काम पूरा भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख अमृत पराजुलीले बताउनुभयो । 

उहाँले यी दुवै गौँडामा विस्फोट गरेर सडक स्तरोन्नति गरिएको जनाउनुभयो । केही स्थानमा २० मिटर अग्लो चट्टानलाई विस्फोट गरेर सडकलाई तल झारिएको बताउँदै उहाँले रातदिन विस्फोट गर्ने र सडक मिलाएर काम सम्पन्न गरेको जानकारी दिनुभयो । चट्टानी भिरमा छदेखि आठ मिटर सडक चौडा गरिएको छ । केही स्थानमा ग्याबिन वाल पनि लगाइएको छ । चट्टानी सडकमा ग्रेड मिलाउने काम भएपछि यातायातका साधनलाई सहज भएको छ । यी दुई वटा गौँडाबिचको दुई सय मिटर सडकको चट्टान विस्फोट गर्ने र ग्रेड मिलाउने काम सकिएको उहाँले बताउनुभयो । 

यसअघि निर्माण कम्पनीले उक्त खण्डमा सडकको ग्रेड नमिलाईकन कच्ची सडकको ट्र्याक खोलेको थियो । सडकको यो अवस्था देखेर हुम्लावासीले उक्त सडक स्तरोन्नतिका लागि नेपाली सेनालाई दिन आग्रह गरेका थिए । यो माग सम्बोधन गर्दै सरकारले गत पुस १७ को मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेर उक्त गौँडाको सडक स्तरोन्नतिको जिम्मा नेपाली सेनाको विकास निर्माण दललाई दिने निर्णय गरेको थियो । सोही अनुसार सेनाले गत चैत २५ बाट काम सुरु गरेको थियो । यसअघि भिगौडाबाट याङ्चु कुनासम्मको छ सय मिटर सडकको स्तरोन्नति गर्ने भएको छ । असजिला गौँडाको सडक स्तरोन्नति भएपछि अब सधैँका लागि सडक सहज भएको खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीले बताउनुभयो । उहाँले यी गौँडाको स्तरोन्नति भएपछि बन्द गरिएको सडक पनि नियमित भएको बताउनुभयो । निर्माण भइसकेका कारण सेनाले यातायात सेवा बन्द गरेको थियो ।