• १३ साउन २०८१, आइतबार

अजयमेरुकोटको सरसफाइ

blog

अमरगढी समाचारदाता

डडेलधुरा, चैत १२ गते । कर्णालीदेखि महाकालीपारि भारतको कुमाउ–गढवालसम्म फैलिएको तत्कालीन विशाल डोटेली राज्यको दरबार अजयमेरुकोट सरसफाइ गरिएको छ । भग्नावशेषमा परिणत भएको दरबार क्षेत्रमा पलाएको झाडी सफाइ गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम गरिएको छ । 

अजयमेरुकोटमा अजयमेरु गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो । प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अजयमेरुकोट क्षेत्रमा सफाइ गरेको छ ।

यहाँका सात वटै स्थानीय सरकारलाई निमन्त्रणा गर्दै श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम गरिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले जानकारी दिनुभयो । 

एकछिन भए पनि श्रम गर्दै पसिना बगाई अपनत्व बढाउन अजयमेरुकोट सरसफाइ कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । अजयमेरुकोट अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिकासँग सीमा जोडिएको क्षेत्रमा अवस्थित भए पनि यो राज्यको सम्पत्ति भएको उहाँले बताउनुभयो । 

१३ औँ शताब्दीमा डोटेली अन्तिम राजा नागी मल्लले अजयमेरुबाट राज्य सञ्चालन गर्नुभएको इतिहास पाइन्छ । उहाँको शासनकालपूर्व कत्युरी वंशका पाल राजाहरूले अजयमेरुकोटबाट राज्य सञ्चालन गर्नुभएको इतिहासमा पाइन्छ । 

सो कोटको संरक्षण र दरबार निर्माण गर्न सके आन्तरिक पर्यटक बढाएर लाभ लिन सक्ने उहाँको भनाइ छ । विलय हुन लागेको अजयमेरुकोटको दरबार विशाल ढुङ्गाले बनेका देवल, बैठक कक्ष र नाउलाहरू अझै छन् ।

पुरातत्व विभागले केही देवल, बैठक कक्षाको पुनर्निर्माण गरेको भए पनि दरबार क्षेत्रमा उत्खनन भने गरेको छैन । दरबार क्षेत्र उत्खनन गरिए धेरै ऐतिहासिक महत्वका कुरा प्राप्त गर्न सकिने भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले बताउनुभयो । 

अजयमेरुकोटका खजनाकोट अर्थात् दरबारहरू दरबारको पश्चिमतर्फ रहेको भागेश्वर गाउँपालिका–४, गोलाइ गाउँमुनि रहेको र यस्तै खजनाकोट अमरगढी नगरपालिका–४, सुनेडा गाउँ र अजयमेरु गाउँपालिका–२, डुणला गाउँमा पनि रहेको उहाँले जानकारी दिनुभयो । 

दुस्मनबाट दरबारको सुरक्षाका लागि खजाना र हातहतियारसहित सेना खटाइने गरेको शिलापत्र, ताम्रापत्रमा उल्लेख हुनुका साथै इतिहासकार आरडी प्रभास चटौतले लेख्नुभएको उहाँले बताउनुभयो । अजयमेरुकोटमा ठुला ठुला ढुङ्गामा कुँदिएका मूर्ति, शिल्पकारको कौशलले बनाइएका नाउला, बैठक कक्ष, प्रतीक्षालय, देवलहरूसँगै रानीले पानी भर्न जाने गुफाहरूको अवलोकन गर्न सकिन्छ । 

अजयमेरु गाउँपालिका, गाउँपालिका सुदूरपश्चिम प्रदेश सरकार र पर्यटन बोर्डका ससानो रकमले कोट क्षेत्र वरिपरि पर्खाल निर्माण, गेट निर्माण र ढुङ्गेबाटो निर्माण गरिएको अजयमेरु गाउँपालिका उपाध्यक्ष वसन्ती पालले जानकारी दिनुभयो ।