• ९ मंसिर २०८१, आइतबार

पर्यटन अर्थतन्त्रको मुहार

blog

केही दिनअघि भक्तपुरको मुख्य सहर घुम्न पुगेँ । दुई वर्षअघि पनि पुगेको थिएँ तर त्यतिबेला पर्यटकको चहलपहल अति न्यून थियो । पर्यटकीय पसल सुनसान जस्तै थिए त्यस बखत । यो पटक बाक्लै पर्यटकीय चहलपहल देखियो । पर्यटकलाई आकर्षण गर्ने हस्तकलादेखि अनेक पसलमा बस्ने व्यापारीहरू उत्साही देखिन्थे । ससाना होटलमा कतै बारा त कतै चटामरी पाकिरहेका थिए । त्यस्तैमा पर्यटकहरूले स्थानीय पाकको स्वाद लिइरहेको देखिन्थ्यो । स्थानीयको मुहारमा सकारात्मक परिवर्तन आएको देखियो । ससाना समूहका पर्यटकको बाक्लै घुमघाम देखिन थालेपछि पर्यटकीय चहलपहलमा परिवर्तन आएको हुनु पर्छ । केही नेपाली युवा पनि उत्साही थिए । पर्यटकलाई भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक चिनारी गराइरहँदा उनीहरूको मुहारमा खुसी विम्बित भएको अनुभव हुन्थ्यो ।

राजधानी काठमाडौँ नजिकको सहर भक्तपुरमा मात्र होइन, पर्यटक राजधानी बाहिर पनि पुग्न थालेको केही दृष्टान्तले स्पष्ट पार्छ । यसै दैनिकको चैत ११ गते (२०८०) को अङ्कमा पहिलो पृष्ठको मुख्य तस्बिर पर्वतीय पर्यटनको राम्रै झल्को दिने खालको छ । अन्नपूर्ण प्रथमको उत्तरी आधार शिविरको तस्बिर छापिएको छ । शिविरमा पर्यटकहरू टेन्ट राखेर बसेका छन् । सेतो हिमालको काखमा बाक्लै टेन्ट राखेर आरोहणको तयारी भइरहेको तस्बिरले देखाउँछ । यी दृष्टान्तले यो वसन्तयाममा पर्यटकको आवागमन राम्रै गरी बढ्ने सङ्केत गरेको छ । पर्यटकीय अर्थतन्त्रमा फेरि नयाँ उत्साह छाउन थालेको किन पनि अनुभव हुन्छ भने चार वर्षअघि विश्वभर पर्यटकीय गतिविधि लगभग रसातल पुगेको थियो । नेपालमा त्यसको असर नपर्ने कुरै भएन ।

चीनको उहानको मुहान भएर सन् २०१९ को डिसेम्बरबाट फैलिएको कोरोना (कोभिड १९) ले संसारको धेरै क्षेत्रमा प्रभाव पा¥यो । हवाई यातायात ठप्प भए, सडक सुनसान हुँदै गए पनि पर्यटकीय होटलहरू खाली भए । विश्वभर पर्यटकीय आय अति न्यून हुँदै गयो । दक्षिण एसियाली मुलुक श्रीलङ्कामा पर्यटक नआएपछि विदेशी मुद्रा आर्जनको स्रोत सुक्यो । विद्यार्थीलाई परीक्षामा लेख्ने उत्तरपुस्तिका समेत आयात गर्ने अवस्थामा श्रीलङ्का रहेन । परीक्षाहरू नै स्थगित भए । देशको अर्थतन्त्र टाट पल्टियो । राजनीतिक उथलपुथल भयो । बिस्तारै गत वर्षदेखि पर्यटक आउन थालेपछि श्रीलङ्काको अर्थतन्त्र फेरि पुरानै लयमा फर्कन यत्न गर्दै छ । नेपालमा पनि पर्यटन अब सन् २०१९ अघिकै लयमा फर्कन खोज्दै छ ।

कोभिड आउनुअघि सन् २०१९ मा विश्व अर्थतन्त्रमा पर्यटनको योगदान २२९ खर्ब डलर बराबरको थियो । त्यसयता न्यून हुँदै गएको पर्यटन आय बल्ल गत वर्ष सन् २०१९ कै हाराहारीमा पुग्ने अनुमान गरिएको थियो । शायद सन् २०२४ बाट विश्व पर्यटन अर्थतन्त्रमा नयाँ बहार आउने छ र नेपालमा पनि त्यसको सकारात्मक प्रभाव पर्दै जाने छ तर भक्तपुर सहरमा पर्यटीय चहलपहल बढ्दैमा अनि एक/दुई वटा हिमालको काखमा साहसिक पर्यटकले टेन्ट लगाउँदैमा नेपालको समग्र पर्यटन अर्थतन्त्रको मुहारमा दिगो उत्साह भने छाउँदैन । पर्यटकलाई देशको समग्र अर्थतन्त्रसित जोड्ने नीति, योजना र कार्यक्रम अगाडि बढाउँदा मात्र पर्यटन अर्थतन्त्रको भविष्य सुनिश्चित हुँदै जान्छ ।

नेपाललाई प्रकृतिले हिमाल, पहाड र तराईको अनुपम भूगोल दिएको छ । हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्म अनेकौँ पर्यटकीय सम्पदा छन्, तिनबाट बजार विस्तार गर्ने सम्भावना छन् । सांस्कृतिक र ऐतिहासिक सम्पदा संरक्षण गर्दै तिनलाई पर्यटकीय बजारमा रूपान्तरण गरिनु पर्छ । गाउँ गाउँमा छरिएको नेपालीको सांस्कृतिक र जातीय विविधताले पर्यटन बजारका अनेकौँ सम्भावना बोकेको छ । खाना र संस्कृति एकअर्कामा गहिरो सम्बन्ध राख्ने र पर्यटनको बजारका निम्ति उर्वर सम्भावना भएको क्षेत्र हो । स्थानीय कृषि उपजबाट युगौँदेखि विकसित हाम्रा खानपान र संस्कृतिप्रति पर्यटकको ठुलो चाख छ, चासो छ । भुक्तपुरको बारा, चटामरी, जुजु धौ त उदाहरण मात्र हो, यस्तो ब्रान्डिङ गर्न जातीय र सांस्कृतिक विविधता भएको हाम्रो मुलुकका निम्ति अनेक छन् ।

अहिले वैदेशिक रोजगारीप्रति जुन आकर्षण बढ्दै छ र गाउँघर रित्ता हुन थालेका छन्, त्यसले हाम्रा गाउँघरका मौलिक संस्कृति, खानपान र पाहुना सत्कारको मौलिक परम्परामा बिस्तारै विराम लाग्ने जोखिम बढ्दै गएको छ । राजधानी काठमाडौँ तथा देशका केही स्थानमा ठुला तारे होटल विस्तार हुँदैमा नेपाली पर्यटनको दिगो विकासको आधार बन्दैन । ती ठुला तारे होटललाई नेपाली उत्पादन, नेपाली मौलिक खानपान र रहनसहनसित जोड्न सक्दा मात्रै नेपालको पर्यटन मुहारमा दिगो विकासको आधार बन्ने छ । वैदेशिक रोजगारीमा कठिन मेहनतले केही आर्जन गर्ने अहिलको प्रवृत्तिलाई देशभित्रै र गाउँघर तथा सहरमा बसेर विदेशी मुद्रा आर्जन गर्न सकिने अपार सम्भावनामा रूपान्तरण गर्न सकिने छ ।

सङ्घीयता लागु भएपछि सङ्घसँगै देशमा सात वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकार छन् । नेपालको अर्थतन्त्रको तीन मूल सम्भावना कृषि, पर्यटन र जलस्रोत नै हो र त्यसमध्ये हरेक सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर नीति, योजना र कार्यक्रम बनाउनु वाञ्छनीय छ । त्यसका निम्ति सङ्घीय सरकारले प्रभावकारी नीति बनाउनु पर्ने छ । नीतिले के कति प्रभाव पार्छ भन्ने विषय, बैङ्क तथा वित्तीय संस्थाको विस्तार भएको उदाहरण हेर्न सकिन्छ । दुई दशकअघिसम्म नेपालका सहरी क्षेत्रमा मात्र बैङ्क तथा वित्तीय संस्थाको पहुँच थियो । गाउँमा बैङ्क तथा वित्तीय संस्था पुग्न मान्ने अवस्था थिएन, कठिन भइरहेको थियो । केन्द्रीय बैङ्कले सहरमा शाखा विस्तार गर्दा ग्रामीण भेगमा पनि शाखा लैजानु पर्ने अनुपातिक नीति अख्तियार गरेको थियो । त्यसो गर्दा प्रभाव राम्रो देखियो । बैङ्कको शाखा गाउँ र सहर उन्मुख गाउँसम्म पुगे र पुग्दैछन् । अझ सङ्घीयता लागु भएपछि हरेक पालिकामा वाणिज्य बैङ्कका शाखा पुग्ने गरी केन्द्रीय बैङ्कको नीतिले राम्रो काम गरेको छ । बैङ्क तथा वित्तीय संस्थामा नागरिक पहुँच पुग्दै छ ।

बैङ्क तथा वित्तीय संस्थाको यो उदाहरण किन दिएको हो भने देशभर खुलेका तारे होटलसम्म अब ग्रामीण पर्यटनलाई जोड्नु पर्छ । त्यसरी जोड्न सक्ने नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनु आवश्यक छ । तारे होटलमा मात्र रमाउन नेपालमा पर्यटक आउँदैनन्, आए पनि त्यस्ता पर्यटकको सङ्ख्या अति न्यून हुने गर्छ । अधिकांश पर्यटक नेपाल आउने भनेकै यहाँको पर्वतीय शृङ्खला, अनेक सांस्कृतिक विविधता, मौलिक खानपान, कला संस्कृतिमा रमाउन आउने हुन् । देशभरका सबै सरकारले आफ्नो क्षेत्रमा के कस्तो सम्भावना छ, त्यसै अनुरूपको पर्यटन बजार विस्तार गर्न सक्ने गरी नीति तर्जुमा गर्नु पर्छ । चलिरहेका र अब चल्ने तारे होटलहरूलाई मापदण्ड नै बनाएर ग्रामीण पर्यटनसित जोड्ने गरी अब सम्भावनाको खोजी गर्नु पर्छ । यसले भोलिका दिनमा देशभर पर्यटनको अपार बजार सिर्जना हुने छ ।

ठुला तारे होटलमा विदेशी परिकारको पहुँचले मात्र पर्यटन अर्थतन्त्रमार्फत देशको मुहारमा परिवर्तन ल्याउन सकिन्न । तारे होटलले मात्र पर्यटकको बसाइँ लम्ब्याउन पनि सकिन्न र वास्तविक पर्यटकीय आम्दानीमा पनि बढोत्तरी ल्याउन सकिन्न । एक सातामै नेपालबाट फर्कने पर्यटकलाई अर्को एक साता थप बसाइका निम्ति ग्रामीण पर्यटन, पदयात्रा, साहसिक पर्यटनसित जोडेर बजार विस्तार गरिनु पर्छ, संरचनामा लगानी गरिनु पर्छ । देशभित्र अर्गानिक उत्पादनको कृषि विस्तार गर्दा त्यसले ग्रामीण पर्यटनमा आमूल परिवर्तन गर्न सकिन्छ । औद्योगिक उत्पादन तथा पत्रुखानाले दिक्क भएका पर्यटक यहाँ अर्गानिक र मौलिक खानपानप्रति निश्चय नै हुरुक्क हुन्छन् तर त्यसका निम्ति सङ्घ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक तवरले काम गर्नु पर्छ । कम्तीमा १०/२० वर्षको नीति र योजना बनाएर काम गर्दा नेपालको गाउँगाउँसम्म पर्यटकको बसाइ विस्तार गर्न सकिन्छ ।

बाह्य पर्यटक मात्र होइन, आन्तरिक पर्यटकको बजार पनि फराकिलो हुँदै छ । नेपालभन्दा बाहिर रहेका लाखौँलाख नेपाली आफू र आफ्ना सन्तानलाई नेपाल देखाउन र चिनाउन चाहन्छन् । डायस्फोरामा रहेका नेपाली परिवार काठमाडौँ र पोखरा घुमेर मात्र आफू र आफ्ना सन्ततिलाई सही अर्थमा नेपाल चिन्न र चिनाउन सक्ने छैनन् । ग्रामीण भेगसम्म पुगेर बस्ने, अनेक समुदाय, रहनसहन र संस्कृतिसित रमाउने उनीहरूको चाहना हुन्छ । नेपाली मौलिक तवरको खानपान, बसाइलाई प्रोत्साहित गर्दै विकास गरिने फराकिलो आधारको पर्यटन नै भोलिको नेपालको पर्यटन अर्थतन्त्रको भविष्य हो ।

नेपालको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान ६.७ प्रतिशत मात्र रहेको छ । सन् २०१९ मा १० लाखभन्दा बढी पर्यटक आएका थिए र अर्को वर्ष २०२० लाई दोब्बर पर्यटक आउने गरी भ्रमण वर्ष आयोजना गर्ने तयारीकैबिचमा कोभिडले विराम लगाइदिएको थियो । अब फेरि पर्यटक २०१९ कै हाराहारीमा आउन थालेका छन् । नेपाली कृषि, उद्यम र सेवा क्षेत्रलाई देशीय अर्थतन्त्रमा जोड्ने गरी पर्यटनको दिगो विकास गर्न सक्दा आगामी केही वर्षपछि नै नेपालमा वार्षिक ५० लाख पर्यटक आउने वातावरण बन्छ । यसले बिदेसिएका लाखौँलाई देशभित्रै र स्थानीय स्तरमै रोजगारी र स्वरोजगारीको ढोका खोल्न सक्ने छ । आगामी बजेट र नयाँ पञ्चवर्षीय योजनाले पर्यटनको दिगो विकासको आधार निर्माण के कसरी काम गर्ने हो ? त्यसमा नै नेपालका दिगो पर्यटनको भविष्य निर्भर रहने छ ।

  

Author

जुनारबाबु बस्नेत