• ७ मंसिर २०८१, शुक्रबार

सापेक्षित छ समय र परिवर्तन

blog

कुनै प्रकारको परिवर्तन वा घटना हुनु भनेको पहिलेको अवस्था र वर्तमान अवस्थामा आएको भिन्नता हो । यो समयसँग सम्बन्धित छ । आयु, अवधि, छिटो, ढिलो, पहिले, अहिले, भोलि, आज आदि समयसँग जोडिएका छन् । पहिले र अहिले भन्ने कुराले समय बितेको अवस्था बताउँछ । 

समय र परिवर्तन सम्बन्धित छन् । समय बितेको र परिवर्तन आएको कुरासँग सम्बन्धित छन् । समयरहित अवस्थाको कल्पना गर्दा सबै कुरा ठप्प हुने छ, प्रकृति ठप्प हुने छ । 

वास्तविक संसार गतिशील छ र निरन्तर परिवर्तन भइरहेको छ । कुनै घटना एक पटक मात्र हुन्छ । जस्तै रुखबाट एउटा पात खस्नु, त्यही पात फेरि अर्को पटक त्यसरी कहिल्यै खस्दैन । कुनै घटना दोहोरी रहन्छन् जस्तै समुद्रको किनारामा छाल आइरहनु । दोहो¥याई तेह¥याई नियमित हुने घटनाले अन्य परिवर्तनलाई सङ्केत गरिरहेका हुन्छन् । जस्तै सूर्य उदाउनु र अस्ताउनु । पहिलेका मानिसले यस्ता दोहोरिरहने प्राकृतिक घटनाको गणना गरेर समयको हिसाब गर्ने विधि बनाएको अनुमान गर्न सकिन्छ । प्राकृतिक घटनाको गणना गरेर समय मापन गर्ने उपकरण घडीको आविष्कार गरिएको हामीले बिर्सन हुँदैन । 

सूर्य उदाउने र अस्ताउने समयको हिसाबले अँध्यारोको एक अवधिलाई एक रात र उज्यालोको एक अवधिलाई एक दिन मानियो । आकाशमा देखिने चन्द्रमाको पूरा गोलो आकार हुने र घट्दै जाने, फेरि उही गोलो आकार देखिने लगभग साढे उनन्तीस दिनको अवधिलाई एक महिना मानिएको भन्न सकिन्छ । 

दिन, महिना, वर्षको अवधिलाई कैयौँ वर्षसम्म मानिसले नियालेर अध्ययन गरिरह्यो । उस्तै कुरा दोहोरी रहेको र उही अवधि रहेको कारणले निश्चित प्रणालीको विकास गरी मानिसले पात्रो बनायो । हामी एक वर्षको पात्रो बनाएर प्रयोगमा ल्याउँछौँ । एक वर्षलाई १२ महिनामा विभाजित गरिएको हुन्छ तर कुनै महिनामा चन्द्रमाको अवस्था वास्तविक अवस्थितिसँग ठ्याक्क मेल खाएको हुँदैन । 

सात दिनको एक हप्ता मानेर पात्रोमा अङ्कित गरेको हुन्छ । यो प्रचलन यहुदीहरूको काम गर्ने र आराम गर्ने प्रचलनबाट आएको मानिन्छ । सभ्यताको विकास हुँदै गर्दा जुनबेला सूर्य आकाशमा टाउकोमाथि हुन्छ त्यस क्षणलाई मध्याह्न र त्यसको १२ घण्टापछिको समयलाई मध्यरात मानेर व्यवहार चलाउन थालिएको हुन सक्छ । पृथ्वीका सबै भू–भागमा मध्याह्न र मध्यरात एकै पटक हुँदैन । 

समयलाई नाप्ने र अभिलेख गर्ने प्रणालीमा उपयोगी औजारका रूपमा पात्रो वा क्यालेन्डरको विकास भयो । प्रकृतिमा नियमित सारणीका रूपमा ऋतुहरूको चक्र चलिरहने कुराको लेखाजोखा क्यालेन्डरको महìवपूर्ण उपलब्धि मानिन्छ । यसले मानिसलाई योजनबद्ध रूपमा प्रकृतिका विभिन्न ऋतुका गुण अनुसार काम गर्ने योजना बनाउन सहयोग पु¥याउँछ । संसारका विभिन्न भागमा विकास भएका सभ्यता अनुसार विविध ढाँचाका क्यालेन्डरको प्रचलन विकास भयो । जस्तै ग्रेगरियन क्यालेन्र, चर्च क्यालेन्डर, हिब्रु क्यालेन्डर, इस्लामिक क्यालेन्डर, चिनियाँ क्यालेन्डर, जाभा क्यालेन्डर आदि । 

आजका दिनमा धेरै प्रयोगमा आउने  ग्रेगरियन क्यालेन्डर हो । सोह्रौँ शताब्दीमा पोप ग्रेगरी तेह्रौँले विकास गरेको यो प्रणालीमा १२ महिना हुन्छ । जसमा ११ महिना ३० र ३१ दिनको तथा एउटा महिना लगातार तीन वर्ष २८ दिन र चौथो वर्ष २९ दिनको हुन्छ । प्रचलनमा ल्याइएको यो प्रणालीको क्यालेन्डरका वर्ष, महिना, दिनको समय पृथ्वी र चन्द्रमाको गति अनुसार केही सेकेन्डले मिल्दैनन् । चन्द्रमा पूरा उज्यालो र पूरै छाया परेको समय (पूर्णिमा–औँशी) चक्रलाई तिथि, घडी, पला, प्रहर आदि एकाइको विकास गरेर गणना गर्ने प्रचलन अनुसार एक वर्ष १२ महिना वा ३६५ दिनको तथा महिना २९–३२ दिनको हुने पात्रो हाम्रो प्रचलनमा छ । 

यस अनुसार हाल विक्रम संवत् २०८०, नेपाल संवत्को क्यालेन्डर अनुसार ११४४, गे्रगरियन अनुसार २०२४ र हिब्रु अनुसार ५७८४ समय चलिरहेको छ । यसरी विभिन्न प्रचलनका पात्रो अनुसार हालको समय फरक फरक सालमा अङ्कित गरिएको हामी देख्न सक्छौँ । 

क्यालेन्डर विकास हुने क्रममा पृथ्वीले सूर्यको एक चक्कर लगाउने समय तथा चन्द्रमाको औँशी–पूर्णिमाको अवधि अनुसार १२ महिना र ३६५ दिन गणना गर्न विविध तरिका अपनाउने गरिन्छ । ३६५ लाई ठ्याक्कै १२ भागमा बाँढ््न सकिँदैन । फेरि पृथ्वीले सूर्यलाई परिव्रmमा गर्ने बाटो पूरै गोलाकार नभई अन्डाकार हुने भएकाले यसलाई १२ भाग लगाउँदा पनि एकैनासको भागहरू बन्दैनन् । पृथ्वी पनि सिधा उत्तर–दक्षिणको रेखामा नभई केही कोल्टे परेको रेखालाई धुरी बनाएर घुम्छ र दिन–रात बनाउँछ । कुनै भू–भागमा रात र दिन लामो/ छोटो हुने तथा फरक स्वभावका ऋतु हुने कारणले पात्रो बनाउँदा पनि समयलाई यताउता पारेर मिलाउने गरिन्छ । यस कारणले प्रकृतिको समय र पात्रोको समयमा तादम्य रहेको हुँदैन । केही वर्षअगाडि समय मिलाउन ११ महिनामा नै एउटा वर्ष सकिएको मान्नुपर्ने बहस चलेको थियो । 

एक दिनलाई २४ घण्टामा विभाजन गरिन्छ । एक घण्टालाई ६० मिनेट र एक मिनेटलाई ६० सेकेन्डमा । प्राचीन बेबिलोनियनलाई यसको जनक मानिएको छ । बेबिलोनियनहरूले सूर्यको एक चक्करलाई ३६० भागमा विभाजित गर्ने र डिग्री एकाइमा नाप्ने गरे । एक डिग्रीलाई ६० मिनेटमा विभाजन गरिन्थ्यो । पछि घडी बनाउँदा जति सानो युनिट भयो त्यति स्पष्ट मापन गर्न सजिलो हुने भएकाले एक घण्टालाई ६० मिनेटमा र एक मिनेटलाई ६० सेकेन्डमा विभाजित गरेर घडी बनाइयो । मध्यरातदेखि अर्को मध्यरातसम्मको अवधिलाई २४ घण्टा मानियो, एकदिन भनियो । 

विज्ञानमा समयलाई लम्बाइ र पिण्ड जस्तै आधारभूत मापन मानिन्छ । प्रख्यात भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले लम्बाइ, पिण्ड र समय तीनवटै आधारभूत मापन वस्तुको सापेक्षित गतिले प्रभावित हुने रहेछन् भन्ने तथ्य पत्ता लगाए । लम्बाइ, चौडाइ र उचाइ तीन आयाम तथा समयलाई मापनको चौथो आयाम रहेको सिद्धान्तको विकास भएको थियो । 

समयको निरन्तर अग्रप्रवाहलाई प्रकृतिको आधारभूत चरित्र मान्न नसकिने धेरै भौतिकशास्त्रीको मत पनि छ । उनीहरूका अनुसार यो ब्रह्माण्ड तीव्र गतिमा विस्तार भइरहेको एकदम असङ्गठित प्रणाली जस्तो रहेका कारणले समयको निरन्तर अग्रप्रवाह मात्र नहुन सक्छ । उनीहरूको तर्क अनुसार कुनै निश्चित अवस्थामा समय पछाडि फर्कने सम्भावना पनि रहन्छ तर यो विचारलाई प्रयोगबाट प्रमाणित गर्न सकिएको छैन आजसम्म । 

प्राणी र वनस्पतिले समयचक्रसँग संवेदनशीलता देखाउँछन् । भौतिक पदार्थले पनि समय, अवधिका नियमसँग तादाम्य राख्छन् । भू–गर्भका पदार्थ जस्तै युरेनियम विकिरणद्वारा आफ्नो ऊर्जा क्षय गर्दै सिसामा रूपान्तरित हुन्छ । युरेनियमको खानीमा रहेको सिसाको परिमाण मापन गरेर उक्त चट्टान निर्माण भएको अवधि आकलन गरिन्छ । यस्तै प्राणी र वनस्पतिमा भएको कार्बन क्षयीकरणको हिसाब गरेर उक्त जीव वा वनस्पति कति वर्षपहिले मरेको हो पत्ता लगाइन्छ । 

समय, जीव र निर्जीव दुवैमा प्रभावी छ । कुनै घटना भएपछि त्यसको असर अर्को ठाउँमा पुग्छ । बिजुली चम्किँदा त्यसको प्रभाव हाम्रो आँखा र कानमा अनुभव हुन्छ । बन्दुक पड्कँदा धुवाँ उडेको र आवाज निस्केको हामी हेर्न र सुन्न सक्छौँ । घटना र असर एकै पटक हुँदैन । पहिले घटना अनि त्यसको प्रभाव हुनुपर्ने हो तर कुनै विशिष्ट अवस्थामा भौतिकशास्त्री, गणितशास्त्री र दार्शनिकको प्रयोग, तथ्याङ्क र सूत्रले घटना भएको भन्दा प्रभाव परेको समय पहिलेको देखाइदिन्छ ।

कतिपय अनुसन्धानकर्ता त्यस्ता नतिजाबाट हैरान हुन्छन् । भौतिकशास्त्री एचए लरेन्ज आफ्नो प्रयोगको नतिजामा ऋणात्मक समय आएको कुराले जीवनभर समाधान निकाल्न असमर्थ रहे । पछि आइन्स्टाइनले समय सापेक्षित हुने तथ्य पत्ता लगाएपछि समस्या सुल्झियो । 

प्रकृति विचित्रको छ, कतै जन्मनुभन्दा पहिले नै मृत्यु हुने समय सम्भव छ ? समयको सापेक्षित चरित्र हुने, अनि एउटै घटना फरक अवस्थामा बसेर हेर्दा बेग्लाबेग्लै समयमा भएको पाइने हुँदा सोझो हिसाबले समयलाई चिन्न सकिँदैन । प्रकाश पनि उम्कन नसक्ने भीमकाय गुरुत्वाकर्षण शक्ति भएका ब्ल्याकहोलमा मानौँ यदि हामीले चिया उमाल्न थाल्यौँ र त्यसमा लागेको समयमा त सूर्यभन्दा ठूला तारा पनि भकभकी उम्लिएर सकिने छन् । यसको कारण हो ब्ल्याकहोलमा समय रोकिन्छ, धेरैजसो वैज्ञानिकको मत यही छ ।  

Author

लेखनाथ ढकाल