• १५ वैशाख २०८१, शनिबार

‘घृणालाई प्रेममा बदल्ने पर्व होली’

blog

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादवले डम्फा बजाएर होली मनाउन आग्रह गर्नुहुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, चैत १० गते ।
 नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले घृणालाई प्रेममा बदल्ने होली पर्व सबै मिलेर मनाउन हराउँदै जान थालेको डम्फा बजाएर आग्रह गर्नु भएको छ ।  मिर्चैया नगरपालिकाले आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभयो ।

मधेशी समाजमा राजनीति सामाजिक वा अन्य कारणले उत्पन्न घृणालाई प्रेममा बदल्न होली पर्व मनाउन आवश्यक रहेको नेता यादको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘वर्ष भरिको दुस्मनी र वैमनस्यता लगायतका घृणाहरूलाई प्रेममा बदल्न मिर्चैया नगरपालिकाले होली मिलन कार्यक्रम आयोजना गरेर सकारात्मक सन्देश प्रवाह गरेको छ । अन्य पालिकाहरूले समेत यस्तै प्रकृतिको कार्यक्रम आयोजना गर्न आवश्यक छ ।’’

मिर्चैया नगरपालिकाको नगरप्रमुख श्रवणकुमार यादवले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि रचनात्मक र सृजनात्मक कार्य गरिरहँदा अनावश्यक लफडा खडा गर्न नहुने उपमहासचिव यादवले आग्रह गर्नुभयो । ‘मिचैया नगरपालिका सम्भावना बोकेको नगरपालिका हो । ग्रामीण भेगलाई सहरसँग जोडेर जनपक्षी काम गरेर शिक्षा स्वास्थ्य र कृषिमा सन्तोषजनक कार्य गर्नुको साथै स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कनमा ८६ अङ्क ल्याएर मधेश प्रदेशमा पहिलो स्थान ल्याएको छ । होली पर्वको अवसरमा विचार नमिलेपनि विकासका लागि मिलेर अघि बढ्ने प्रण गर्नुपर्ने उपमहासचिव यादवले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका सह-इन्चार्ज तथा पूर्व शान्ति तथा पुन निर्माणमन्त्री विश्वनाथ साहले होलीको हराउँदै गइरहेको मौलिकतालाई फेरि पुर्न जीवन दिइने कार्यमा मिर्चैया नगरपालिकाले थालेको प्रयास सन्देशमूलक रहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘असत्यमाथि सत्यको विजय भएको उत्सवमा मनाउने पर्व होलीको मौलिकता र महत्त्व सदा रहिरहने छ । होली पर्वको अवसरमा आपसी विवाद बिर्सेर सामाजिक सदभाव र एकताको प्रण गर्न आवश्यक छ । देशको हितमा अहिले सत्ता गठबन्धन बनेको छ । यो गठबन्धन चार वर्ष नै चल्नेछ ।’’

पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बोधमाया यादवले मधेशमा रहेको दाइजोप्रथा र सामाजिक कुरीति हटाउनका लागि क्रान्तिकारी होली जोगिरको माध्यमबाट चेतना शिक्षा दिनुपर्ने तर्क गर्नुभयो ।

सिरहा जिल्ला समन्वय समिति सिरहाका पूर्वप्रमुख रामचन्द्र ठाकुरले मधेशी समाजमा बढेको घृणाका कारण सामाजिक विकृति बढिरहेकाले घृणालाई मधेशको बलान कमला रबागमतिमा बगाएर एकता सदभावको माहौल बनाउन जोडदिनुभयो ।

कार्यक्रममा मिथिलाका प्रख्यात गायक कलाकार ललित कामतको समूहले बिचबिचमा होलीको जोगिरा गीत गाएर होलीको माहौल सृजना गर्नु भएको थियो । मिर्चैया नगरपालिकाको विकास निकासका लागि नगरपालिकाका विपक्षी राजनीति दलहरू र आफ्नै दल नेकपा माओवादीको नेताहरूले समेत खुट्टातान्ने काम गरेपनि कर्मचारी र स्थानीय जनताहरूको सहयोग साथ पाएर सफल भइरहेको नगरप्रमुख श्रवणकुमार यादवले भन्दै होली पर्वको अवसरमा सबैसँग मिलेर अघि बढ्न होली पर्वको अवसरमा होली मिलन आयोजना गरेको बताउनुभयो । कार्यक्रममा संविधान सभाका पूर्व सदस्य जगत् यादव र मधेश प्रदेशसभाका सदस्य कञ्चन विच्छाले शुभकामना व्यक्त गर्नु भएको थियो ।