• १३ साउन २०८१, आइतबार

सुरक्षित आवासका लागि पालिकाको अनुदान

blog

कञ्चनपुर, चैत १० गते । गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ । पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । 

कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैङ्क मार्फत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा प्रथम किस्ताबापत एक सय ११ परिवार, दोस्रो चरणमा ५५ परिवार र तेस्रो चरणमा ८८ परिवारलाई ३० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो । 

छाना फेर्न अधिकतम ५० हजार  दुई किस्ताका रूपमा उपलब्ध गराउने प्रावधान अनुसार पहिलो किस्ता बापत सो रकम प्रदान गरिएको हो । सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले कार्यक्रमअन्तर्गत छाना फेर्न निवेदन दिएकामध्येबाट पराल, खर, स्याउला, टायलको छानो भएकालाई आगो, पानी तथा हुरीबाट प्रभावित हुनसक्ने भएकाले अनुदानको व्यवस्था गरेको जनाइएको छ । रासस