• १५ वैशाख २०८१, शनिबार

उपप्रधानमन्त्री महासेठद्वारा नेपाल रेल सेवाको निरीक्षण

blog

नेपाल रेल्वेको जनकपुर जयनगर रेल सेवाको निरीक्षण गर्दै उपप्रधानमन्त्री रघुवीर महासेठ सहितको टोली । तस्बिर: धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम,चैत १० गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शनिबार नेपाल रेल्वेको कुर्था-जनकपुर-जयनगर रेल सेवाको निरीक्षण गर्नुभएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, रेल विभागका महानिर्देशक रोहित कुमार विसुराल, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा सहितको उच्च पदस्थ कर्मचारीहरूको टोली सहित आज बिहान ८ः३० बजेको रेलमा यात्रा गरी रेल्वेको जनकपुर जयनगरको बिचमा पर्ने विभिन्न स्टेसनको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा धनुषा निर्वाचन क्षेत्र नं.२ को खजुरीमा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य लखन दासले भव्य स्वागत गर्नुभएको थियो । प्रदेश सभा सदस्य दासकोको नेतृत्वमा सयौँको सङ्ख्यामा रहेका आम नागरिक र एमालेका नेता कार्यकर्ताले उपप्रधान मन्त्री महासेठ नेतृत्वको टोलीलाई फूलको माला अबिर लगाएर स्वागत गरेका थिए । 


निरीक्षणको क्रममा मन्त्री महासेठलाई धनुषाको खजुरीमा स्थानीय बासिन्दाले सो क्षेत्रमा कमला नदीमा बाढी आएपछि आम नागरिकले भोग्दै आएको समस्याको बारेमा जानकारी गराउनुभएको थियो । निरीक्षणको क्रममा उपप्रधानमन्त्री महासेठले नेपाल रेल्वेको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निकट भविष्यमा रेल यात्रीको चाप हेरेर सरकारले थप बोगीको व्यवस्थापन गर्न सकिने जानकारी गराउनुभयो । रेल सेवा सञ्चालनले खास गरेर  धनुषाको पूर्वी क्षेत्रका बासिन्दा लाभान्वित भएको भन्दै उपप्रधानमन्त्री महासेठले जनकपुर जयनगर रेल सेवाका कारण भारतीय पर्यटकको आगमन जनकपुरधाममा बढेको भने बारे जानकारीमा आएको र यो जनकपुरधामको लागि सुखद रहेको बताउनुभयो । उहाँले महोत्तरीको जलेश्वरमा सुख्खा बन्दरगाह आवश्यक भएको भन्दै विगतमा यसको चर्चा भए पनि कति बढ्यो बढेन भने विषयमा आफूले सम्बन्धित मन्त्रालयबाट जानकारी लिने जानकारी गराउनुभयो । 

उहाँले आफू मन्त्री भएपछि पूर्वाधार निमार्णको कामले गति लिएको भन्दै बजेटको अभावमा काम रोकिएका आयोजनाहरूको लागि अगामी बजेटमा बजेट व्यवस्थापन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उपप्रधानमन्त्री महासेठ सँगै नेकपा एमाले मधेस प्रदेश संसदीय दलका उपनेता एवं प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर ,धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रदेश सभा सदस्य लखन दास सहितका नेताहरूको सहभागिता रहेको थियो ।