• २० वैशाख २०८१, बिहिबार

कला साहित्य यात्रा

blog

यात्रा आफैँमा रोमाञ्चक हुन्छ, त्यसमा पनि उद्देश्यसहितको भयो भने त अझ महत्वपूर्ण बन्न पुग्छ । विगत १७ वर्षदेखि यसरी यात्रा गरिरहेको यात्रामा कैयौँ पटक सहयात्री बन्दा अनुष्ठानमा चरू हाले जस्तै लाग्छ । पश्चिमको नेपालगन्जबाट १६ वर्षअघि सुरु भएको यात्रा यसपालि १७ औँ यात्राका रूपमा पूर्वको ताप्लेजुङमा आयोजना गरिएको थियो । सदा झैँ नेपाली कलासाहित्य डट कम प्रतिष्ठान आयोजक रहेको यसपालिको छ दिने नेपाली कलासाहित्य यात्रा फागुन २४ बाट थालिएर फागुन २९ गते समापन भएको थियो ।

फागुन २४ गतेको सखारै बबरमहलमा पुग्दा भेटिनु भयो वरिष्ठ साहित्यकार तुलसी दिवस, अशेष मल्ल, डा. सावित्री कक्षपति, उषा शेरचन, डा. हरिप्रसाद मानसाग्नि, मणि लोहनी, राजेश्वर कार्की, महेश क्षितिज, सुन्दर बस्नेत, जानुका बस्नेत । प्रतिष्ठानको अध्यक्ष मोमिलाको नेतृत्वमा अघि बढेको यात्रामा सिन्धुलीमा थपिनु भयो कवि भूपिन, दमकमा भेटिनु भयो समालोचक महेश पौड्याल, इलाममा मिसिनु भयो कवि विमल वैद्य अनि ताप्लेजुङमा समेटिनु भयो कवि विमल कोइराला दम्पती (अनिता कोइराला) । धेरैका लागि ताप्लेजुङको यात्रा पहिलो पटक भएर पनि होला, सहभागी स्रष्टाहरूको उत्साह उल्लेख्य थियो । यात्राको पहिलो दिन पूर्वाञ्चलको दमकमा बसेर नेपाली सङ्गीत क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ कलाकार एलपी जोशीलाई उहाँकै आँगन पुगेर यात्रा सम्मान–२०८० बाट सम्मान गर्ने तय भइसकेको थियो । स्थानीय साहित्यकार, कलाकार र जोशीका परिवारसम्मुख वरिष्ठ साहित्यकार, संस्कृतिविद् एवं प्रमुख अतिथि तुलसी दिवसले सम्मान अर्पण गर्नुभएको थियो । ८८ वर्षीय कलाकारलाई उहाँकै थलोमा सम्मान गर्न पाउँदा प्रमुख अतिथि तुलसी दिवसको खुसी बेग्लै थियो । अक्षरमा रम्नेहरूलाई त्यति नचिन्ने समाजमा यस्ता साधकलाई सम्मान गर्न पाउनु प्रतिष्ठानका लागि मात्र नभई समस्त अक्षरप्रेमी, कलाप्रेमीका लागि सुखद रहेको अनुभूति अध्यक्ष मोमिलाले सुनाउनुभयो । वरिष्ठ नाट्यकर्मी एवं साहित्यकार अशेष मल्लले तीन पुस्ता भेला भएर अघिल्लो पुस्ताका कलाकारलाई सम्मान गर्न पाउँदाको खुसी प्रकट गर्नु भयो । यस्तै खुसी साट्नुभएको थियो सम्मानित व्यक्तित्व जोशीले । समालोचक महेश पौड्यालले जोशीको व्यक्तित्वमा प्रकाश पार्नुभएको थियो । झापा, दमकमा साधकलाई सम्मान गरेर बिर्तामोड, झापामा विश्राम लिन पुगेको यात्रा टोली २५ गते बिहान रमणीय थलो इलाम यात्रामा अग्रसर भयो । इलाम पुगेको कला साहित्य यात्रा टोलीलाई इलाम नगरपालिकाले गरेको स्वागत र आतिथ्य त्यत्तिकै उल्लेख्य रह्यो । नगरपालिकाका कार्यवाहक प्रमुख विष्णु दाहाल, प्रतिनिधि विमल वैद्यले स्वागत गरेपछि प्रतिष्ठानका अध्यक्ष मोमिलाले सहभागीहरूको चिनारी प्रस्तुत गर्नुभएपछि पाँचथर हुँदै ताप्लेजुङतर्फ हाम्रो यात्रा अघि बढेको थियो ।

कञ्चनजङ्घाको काखमा अवस्थित ताप्लेजुङमा बिहानीदेखि आयोजक संस्था, सहयोगी संस्था कञ्चनजङ्घा साहित्य प्रतिष्ठान, फुङलिङ नगरपालिकाका साहित्यप्रेमीहरू सिर्जना उत्सवमा जुटिसकेका थिए । फागुन २६ गते कला साहित्य यात्राको मुख्य आकर्षण सिर्जना उत्सव हुने जिल्ला समन्वय समितिको हलमा भेला हुँदै गरेका साहित्यकार, कलाकार, स्थानीय बासिन्दा, राजनीति, समाजसेवा, कलाकारिताका मानिसको आगमन भइसकेको थियो । निर्धारित समयमै दिनको १२.३० बजे च्याब्रुङ नृत्यबाट अतिथिको स्वागतसँगै सिर्जना उत्सवले औपचारिक रूप लिन पुग्छ । प्रतिष्ठानका अध्यक्ष एवं निबन्धकार, कवि मोमिलाको सभापतित्व, वरिष्ठ साहित्यकार दिवसको प्रमुख आतिथ्यतामा कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले सम्मेलनबाट ताप्लेजुङको साहित्यिक क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नु भयो ।

मान्छेमा निहित सिर्जना नै ठुलो कुरा हो; जुन विविध क्षेत्रमा स्थापित छ भन्दै सिर्जना शक्तिको ठुलो कुरा कविता नै हो ।

कार्यक्रमको औचित्य र सम्मानित स्रष्टाहरूका बारेमा महेश पौड्यालले बोल्नुभएको थियो । यसपछिको प्रस्तुति भने कलाकार सुन्दर बस्नेतले खिच्नुभएका विविध विषयका तस्बिरलाई ‘दृश्यमा देश दर्शन’ शीर्षकमा प्रस्तुत गरिएको थियो । कला साहित्य यात्रामा हरेक वर्ष प्रदान गरिँदै आएको कवि राजेश्वर कार्कीद्वारा स्थापित योगेश्वर वाङ्ममय पुरस्कार प्रखर कवि विमल वैद्यलाई, ग्रेगारी कला संस्कृति पुरस्कार भरतकुमार गुरुङलाई प्रदान गरियो । यसैबिच निबन्धकार मोमिलाको प्रश्नहरू त बाँकी नै रहन्छन्... निबन्ध सङ्ग्र्रह र कवि विमल वैद्यको युगको तटमा उभिएर कविता सङ्ग्रहको गृह विमोचन गरियो । सिर्जना उत्सवमा स्रष्टा अशेष मल्लले कला र संस्कृतिमा धनी हामीले अब यसलाई बिक्री गर्ने समय आइसकेको बताउँदै हाम्रै संस्कृतिलाई चलचित्र बनाएर कतिपयले मनग्गे कमाइसकेको उदाहरण दिँदै कला साहित्य, संस्कृतिको महत्व समयमै बुझ्न सुझाव दिनु भयो । प्रतिष्ठानको १७ औँ यात्राका लागि ताप्लेजुङलाई सम्झिएकोमा जिल्ला समन्वय समितिका सभापति छिरिङ लामाले खुसी प्रकट गर्दै यसबाट ताप्लेजुङको साहित्यले नयाँ ऊर्जा पाएको बताउनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले साहित्यले मानिसलाई सचेत बनाउने काम गर्ने भएकाले उहाँहरूको सिर्जनाबाट विविध कुरा आउनुपर्नेमा जोड दिनु भयो । सम्मानित प्रतिभाको मन्तव्यपछि कार्यक्रमको थप आकर्षण सिर्जना सुनाउने क्रममा २५ जनाले आआफ्ना सिर्जना सुनाउनु भयो । तुलसी दिवस, विमल कोइराला, अशेष मल्ल, उषा शेरचन, डा. अमर शाह, डा. हरिप्रसाद मानसाग्नि, राजेश्वर कार्की, मणि लोहनी, भूपिन, विमल वैद्य, केशव सिग्देल, महेश पौड्याल, महेश क्षितिजका कवितासँगै स्थानीय कविहरूले रचना सुनाए । टङ्क भट्टराई, चन्द्र मादेन, प्रशान्त लेखक, मानसिह राई, टीकाराम याक्सो, शान्तिराम नेपाल, सीता पिरती, कमल चेम्जोङ, प्रवासी कान्छा, लक्ष्मी अधिकारी, नवराज आचार्य, मनिष मेनोङ आदिका रचना गुञ्जिए ।

सिर्जना वाचनको समाप्तिसँगै प्रमुख अतिथि दिवसले मान्छेमा निहित सिर्जना नै ठुलो कुरा हो; जुन विविध क्षेत्रमा स्थापित छ भन्दै सिर्जना शक्तिको ठुलो कुरा कवितै हो भन्ने धारणा राख्नु भयो । प्रतिष्ठानको यात्राले, यसका विविध गतिविधिलाई साहित्य, कलाको क्षेत्रमा मात्र होइन, संस्कृतिमा पनि उत्तिकै योगदान दिएको छ भन्नु भयो ।

कवि एवं प्रतिष्ठानका प्रमुख संरक्षक डा. विमल कोइरालाले राष्ट्रको विकास एकाङ्गी नभई सर्वाङ्गीण हुने भएकाले विकासका गतिविधि कडा शक्ति र साहित्य कला नरम शक्ति हुन् भन्दै नरम शक्तिले नै चलायमान बनाउने धारणा राख्नु भयो । यसैले नरम शक्तिको समयमै पहिचान गर्नुपर्ने कुरामा उहाँको जोड रह्यो । समारोहका सभापति एवं प्रतिष्ठानका अध्यक्ष मोमिलाले सफ्ट पावरले नै जीवन्त राख्ने कुरामा सहमति जनाउँदै प्रतिष्ठानले विगत १७ वर्षदेखि काठमाडौँ र मोफसललाई जोड्न कला साहित्य यात्रा गर्दै आएको बताउनुभयो । यसबिच मायाको चिनो प्रदान गरेसँगै झन्डै ५ घण्टा चलेको सिर्जना उत्सव समापन भयो ।

समापनसँगै ताप्लेजुङको आँगनमा आशालाग्दा सर्जकहरूको कमी छैन भन्ने सङ्केत त देखियो नै, साहित्य, कला, संस्कृतिका लागि ताप्लेजुङ कति सचेत र सक्रिय छ भन्ने पनि छनक पाइयो । विविध क्षेत्रका दर्शक, श्रोताको बाक्लो उपस्थिति रहेको समारोहको समापनसँगै साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको धेरैले महसुस गरे ।

भोलिपल्ट निबन्धकार मोमिला र कवि विमल वैद्यको कृतिमाथि चलाइएको परिसंवाद कार्यक्रम पनि त्यत्तिकै उल्लेख्य बन्न पुग्यो । प्रतिष्ठानको आयोजनामा कञ्चनजङ्घा साहित्य प्रतिष्ठान सहयोगी रहेको परिसंवादमा स्रष्टा उषा शेरचन, डा. सावित्री कक्षपति, समालोचक एवं कवि केशव सिग्देल र अशेष मल्लले दुवै स्रष्टाका कृतिबारे र लेखनका बारेमा संवाद गरेका थिए; जसलाई अर्का स्रष्टा महेश पौड्यालले सहजीकरण गर्नुभएको थियो । यी सबैको प्रश्नको, जिज्ञासाको जवाफ मोमिला र विमल वैद्यले दिनु भएको थियो ।

छ दिने यात्राको छैटौँ दिन पनि यात्रामा हिँडेकाहरू विविध कार्यक्रममा सहभागी बन्न पुगे । फागुन २८ गते इलाम नगरपालिका–७ ले आयोजना गरेको बिदाइ समारोह, मोरङ सुन्दर हरैचामा भएको साहित्यिक भेटघाट, इटहरीमा कलाकार विक्रमश्रीको कलाकेन्द्र म्याट्रिक्सको अवलोकन र अन्तर्वि्रmया पनि उत्तिकै अविस्मरणीय रहे । नियमित, व्यवस्थित र आकर्षक कार्यक्रमका रूपमा आफ्नो छवि बनाइसकेको नेपाली कला साहित्य यात्राको १७ औँ यात्रा पनि यस्तै रह्यो । अझ यसपालिको कार्यक्रम, भूगोल, समय र विधाका हिसाबले पनि अझ व्यापक बन्न पुग्यो । २४ गतेको बिहानै बबरमहलबाट थालिएको कला साहित्य यात्रा २९ गते मध्यरातमा आइपुगेपछि औपचारिक रूपले टुङ्गिए पनि यसले छोडेको प्रभाव पक्कै पनि पछिसम्म रहिरहने छ ।  

Author

जयदेव भट्टराई