• १३ साउन २०८१, आइतबार

दुर्गमका विद्यार्थीलाई वित्तीय शिक्षा

blog

डोल्पा चैत्र ९ गते । बचत गर्ने बानीको विकास गर्न सिकाउन हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरूलाई वित्तीय साक्षरता शिक्षा प्रदान गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुरा माध्यमिक विद्यालय काटियाँचौरमा अध्ययनरत विद्यार्थीलाई माछापुच्छ्रे बैङ्क लिमिटेडको डोल्पा शाखाले वित्तीय साक्षरता शिक्षा प्रदान गरेको हो ।  

विद्यालयका ४० विद्यार्थीलाई वित्तीय शिक्षा दिइएको शाखा प्रमुख कृष्ण चालिसेले जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा बालबालिकामा पैसा भेट्यो कि खर्च गर्ने बानी परेकाले आफूसँग भएको थोरै थोरै रकम पनि बचत गर्ने र निकट भविष्य त्यसको लाभ लिनसक्ने कुराको विकास गर्न साक्षरता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । 

कार्यक्रमपछि विद्यार्थीहरूले  बचत, खर्चलगायत विषयमा महत्त्वपूर्ण जानकारी हासिल गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बालबालिकाले वित्तीय शिक्षापछि अभिभावक र आफन्तले दिएको थोरै थोरै रकम बचत गर्ने बानीको निर्माण हुनेमा विश्वस्त रहेको बताउनुभयो । रासस