• १२ माघ २०८१, शनिबार

जनकपुरधाममा महामूर्खको खोजी हुँदै

blog

जनकपुरधाम ।

धनुषा, चैत ९ गते । जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामूर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।

महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला नाटय कलापरिषद् (मिनाप)ले प्रत्येक वर्ष सम्मेलन आयोजना गर्दै आएको छ । मिनापले प्रत्येक वर्ष मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई महामूर्खसहित विभिन्न व्यङ्ग्यात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । 

आपसी भाइचाराका रुपमा लिइएको होली पर्व जनकपुरधाममा हिन्दुसँगै विभिन्न धर्ममा आस्था राख्नेहरुले सँगै मनाउँछन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले करिब तीन दशकदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ । फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ ।

मिनापका महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताउनुभयो । फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिराहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी हुने मिनापका महासचिव मल्लिकले बताउनुभयो । महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । सोअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । सोअन्तर्गत महामुर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादित तरकारीको माला लगाइदिने चलन छ । 

सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्जले पहिलो पटक २०५० सालमा सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्रजीलाई प्रदान गरिएको थियो । सम्मेलनको परिकल्पनाकारमध्ये एक रहनुभएका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवम्  चर्चित पत्रकार चन्द्रकिशोर झा भन्नुहुन्छ, “वि.सं.२०४६ सालमा बहुदल आएपछि राजनीतिकरुपमा परिवर्तन भयो । यस परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरुको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा सम्मेलनको अवधारणा आएको हो ।” समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका खेल्ने उहाँको भनाइ छ । वीरगञ्जमा अहिले होरी मिलन समारोह महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यसप्रकारको सम्मेलन भारतमा पहिले देखिनै हुँदै आएको छ । 

वि.सं.२०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । वि.सं.२०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, वि.सं.२०६२ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर विसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा प्रदान गरिएको थियो । साथै २०६५ सालमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिँघानियालाई प्रदान गरिएको थियो ।

वि.सं.२०७३ मा सप्तरीको मलेठमा एमालेले गरेको मेची-महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । वि.सं.२०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र वि.सं.२०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । त्यस्तै वि.सं.२०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा.भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने २०८० को महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो ।

यसरी छनोट गरिन्छ महामूर्ख ?

महामूर्खको छनोट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ । महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष मदन ठाकुर भन्नुहुन्छ, “महामूर्खको छनोटका लागि एक समिति गठन गरिन्छ । सोही समितिले महामुर्ख छनोट गर्छ ।” जनकपुरधामका स्थानीय पत्रिकामा एक हप्ता पहिलादेखि यसबारे चर्चा सुरु हुन्छ । नेपाल पत्रकार महासङ्घ पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र झा भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । 

यसलाई सञ्चारमाध्यमले महत्वका साथ स्थान दिएको पाइन्छ ।” महामूर्ख बन्नका लागि मानिसहरु कामना गर्ने उहाँको भनाइ छ । वि.सं.२०६५ का महामूर्खको उपाधि प्राप्तकर्ता एवम् मैथिलीका वरिष्ठ साहित्यकार डा.राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि हो ।” मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरुप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकांक्षीको नाम चर्चामा छ । रासस