• २३ वैशाख २०८१, आइतबार

फिर्ती उपन्यास बजारमा

blog

वसन्त पराजुली

नारायणगढ, चैत ९ गते । नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका सदस्य आख्यानकार मणि अर्यालको उपन्यास फिर्ती बजारमा आएको छ । माओवादी द्वन्द्वपछि युवा पुस्तामा देखिएको वैदेशिक यात्रा र त्यसवाट नेपाल फिर्तीका सम्बन्धमा भोग्न परेका सास्तीहरूलाई  उठाइएको सो कृतिको यहाँ आयोजित  एक कार्यक्रमका बिच विमोचन गरी बजारमा ल्याइएको हो । 

सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको कार्यक्रममा कविवर गोविन्दराज विनोदी, लेखकका मातापिता पुरुषोत्तम अर्याल र हेमकुमारी अर्याल, समीक्षक द्वय उदय अधिकारी, प्रतिमा सिलवाल र सम्पूर्ण किताबका  सञ्चालक लेखराम सापकोटाले पुस्तक संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । 

बाँके  खजुराका लेखक अर्यालका यो दोस्रो कृति हो । यस अघि उहाँले कुटी नामको नियात्रा सग्रह प्रकाशन गर्नुभएको थियो । सफल गीतकारको परिचय बनाउनु भएका  अर्यालका आधा दर्जनभन्दा बढी गीत बजारमा आएका छन् । 

कार्यक्रममा समीक्षक उदय अधिकारी र पत्रकार प्रतिमा सिलवालले पुस्तक माथि समीक्षा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अधिकारीले विभिन्न बाध्यतामा बिदेसिएकाहरूको कथा, व्यथा  फिर्ती मा समेटिएको बताउनुभयो । 

पत्रकार सिलवालले पुस्तक माथि समीक्षा गर्दै कृति सरल भाषामा लेखिएको कारणले पनि पाठकहरूलाई अध्ययन गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा रमेश प्रभात, रेसम विरही र सूर्यप्रकाश कँडेल लगायतले पुस्तक माथि चर्चा गर्नुभएको थियो ।