• १३ साउन २०८१, आइतबार

मानव भएर बाँच्न पाउनुपर्छ : प्रमुख मिया

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख नजिर मिया ।

प्रकाशविक्रम शाह

धनगढी, चैत ८ गते । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मानवले मानव भएर बाँच्न पाउनु पर्ने बताउनुभएको छ । ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च)  को सन्दर्भमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दलित आन्दोलनका कारण आज संविधानमा दलित अधिकार लेखिएको छ । दलितलाई गरिने अमानवीय, अमर्यादित असुरक्षित गर्ने कुरा गलत हुन् भनेर संविधानमा स्पष्ट छ, त्यसको कार्यान्वयन हुन जरुरी छ ।” 

प्रदेश प्रमुख मियाले सबै मिलेर संविधानको कार्यान्वयनमा जानसके मात्र दलित अधिकारको सुनिश्चितता हुने बताउनुभयो । “जबसम्म समाजमा दलितमाथि समानता र समान व्यवहार हुँदैन, तबसम्म दलित आन्दोलन जारी रहनु पर्छ” उहाँले भन्नुभयो । दलित अधिकार स्थापित गर्ने कुरामा प्रदेश प्रमुखको हैसियतले आफ्नो पूर्ण सहयोग र समर्थन रहने उहाँले प्रष्ट पार्नुभयो ।   

कार्यक्रममा प्रदेश सभा सदस्य ललिता सुनार, लक्ष्मी विक, भजनी नपाका उपमेयर राजु तिरुवा, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेकपा (एमाले) का जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना, नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनार, माओवादीका नेता लाजुराम चौधरी लगायतले बोल्नुभयो ।  

एमाले नेता प्रेम बिसीको अध्यक्षतामा भएको कार्यक्रममा दलित अगुवा चक्र विकले दलित अधिकार र कार्यान्वयन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।