• १३ साउन २०८१, आइतबार

‘नेताहरूको ध्यान कुर्सी पाउनमै केन्द्रित छ’

blog

पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो ।

अविनाश चौधरी

धनगढी, चैत ८ गते । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले दलहरूको ध्यान कुर्सी पाउन र बचाउनमै केन्द्रित रहेको बताउनुभएको छ । 

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । कुर्सी पाउन र बचाउन गठबन्धन भत्काउने वा बनाउने काम भइरहेको महतोको भनाइ छ । उहाँले भन्नुभयो, “यसबाहेक जनताका लागि कुनै पनि एजेन्डा राजनीतिक दलहरूसँग छैन । कुर्सी पाउने र बचाउनमै दलहरूको पुरै ध्यान र तागत केन्द्रित छ ।”

देशको शासन र संविधान जनताको पक्षमा नरहेको महतोको जिकिर छ । कुर्सी जोगाउनकै लागि एउटा गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने कार्य भएको भन्दै उहाँले कुर्सीमा अझ खतरा भएमा फेरि अर्को गठबन्धन बन्ने जिकिर गर्नुभयो । 

अधिकार र पहिचानका लागि तराई मधेसमा खुलेका पार्टीले कांग्रेस एवम् एमाले चरित्र अपनाउने गरेको पनि महतोले बताउनुभयो । उहाँले पहिचानको कुरा गर्ने दलहरू प्रभाव, दबाबमा परी सत्ताको राजनीतिमा केन्द्रित हुने गरेको उल्लेख गर्नुभयो । 

त्यसकारण शासन, संविधान फेरिए पनि विचार र आचरण नफेरिएका कारण राष्ट्रिय मुक्ति क्रान्तिको अभियान आवश्यक परेको महतोको भनाइ छ । “यो अभियानमा सबै गोलबद्ध हुने मैले विश्वास पनि गरेको छु” उहाँले भन्नुभयो । 

उहाँले मुलुकलाई बहुल जाति राष्ट्रको रूपमा स्थापित गर्न दबाब र सङ्घर्ष बढाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि राष्ट्रिय मुक्ति क्रान्तिको अभियान अगाडि बढाएको महतोको भनाइ छ । अधिकार र पहिचानका लागि लड्दै आएकाहरू सबै अभियानमा गोलबद्ध हुन आवश्यक रहेको उहाँले बताउनुभयो । 

“दोकानदारी अब कसैको चल्दैन र चलाउनु पनि हुँदैन” उहाँले भन्नुभयो, “अधिकार, पहिचानका लागि सबै गोलबद्ध हुनुपर्छ । त्यसका लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा आउनुपर्छ । यो समयको माग हो ।”