• १३ साउन २०८१, आइतबार

रसिदकै भरमा सवारी

blog

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, चैत ८ गते । सवारीचालक अनुमतिपत्र जारी भएको वर्षौंसम्म चालकले राजस्व तिरेको रसिदका भरमा सवारी चलाउँदै आएका छन् । सरकारले लाइसेन्स छपाइ नै नगरेपछि सवारीचालक अनुमतिपत्र रसिदकै भरमा चलेको छ ।

चौरजहारी नगरपालिका–५ का विराज ढकालले एक वर्षपहिला मोटरसाइकल चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण गर्नुभएको थियो । ढकाल जस्तै सयौँले यातायात कार्यालयमा तिरेको करको रसिदका आधारमा सवारीसाधन चलाउँदै आएका छन् । रसिदको भरमा यात्रा गर्दा पानीमा भिज्ने, पटक पटक ट्राफिक जाँचका क्रममा देखाउनुपर्ने भएकाले रसिद झुत्रो भएर समस्या पर्ने गरेको बताइन्छ ।

मुसीकोट नगरपालिका–१ का सुधीरविक्रम शाहले सवारीचालक अनुमतिपत्र नवीकरण गरेको डेढ वर्ष बितिसक्दा पनि लाइसेन्स कार्ड पाउन नसकेको बताउनुभयो । उहाँले नवीकरण गर्दा कर तिरेको रसिद बोकेरै विभिन्न स्थानमा जानु परेको र उक्त रसिद पनि च्यातिन थालेको बताउनुभयो ।

सरकारले स्मार्ट लाइसेन्स वितरण गर्न थाले पनि डेढ वर्षयता लाइसेन्स छपाइ हुन सकिरहेको छैन । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईका अनुसार स्मार्ट लाइसेन्स सेवाग्राहीलाई दिन नसक्दा उनीहरू मारमा परेका छन् । उहाँका अनुसार सरकारले लाइसेन्स छपाइ नगरेपछि सेवाग्राहीलाई वितरण गर्न नसकिएको र सवारीचालकले राजस्व तिरेको रसिदका भरमा काम चलाउँदै आएका छन् । बढी मात्रामा राजस्व सङ्कलन हुने यस क्षेत्रमा सरकारको ध्यान जान नसकेको बताइन्छ । प्रदेश सरकारमातहत यातायात कार्यालय गइसकेको छ । बागमती र 

मधेस प्रदेशले सवारीचालक अनुमतिपत्र छपाइको काम प्रदेशमै सुरु गरेको र कर्णाली प्रदेश सरकारले पनि यो स्मार्ड कार्ड छपाइको काम गर्नुपर्ने चपाईले बताउनुभयो ।

साउनयता यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट एक हजार २४७ वटा नयाँ र करिब एक हजार दुई सय नवीकरण गर्नुपर्ने सवारीचालक अनुमतिपत्रको काम भएको छ । रसिदमा चालक अनुमतिपत्र नम्बर उल्लेख हुने भएकाले ट्राफिक जाँचका क्रममा रसिदलाई कानुनी मान्यता दिने गरिएको छ ।  कतिपयले रसिद हराएको भन्दै मोबाइलको फोटो देखाउने गरेकोसमेत बताइन्छ । यसो गर्दा लाइसेन्स नक्कली हुन सक्ने, दुर्घटनापछि थप जटिलता आउने, प्रहरीलाई झुक्याउने सम्भावना बढी हुने बताइन्छ ।