• १६ वैशाख २०८१, आइतबार

नेपाली क्रिकेट सकारात्मक बाटोमा : आइसिसी अध्यक्ष बार्कले

blog

सञ्चारकर्मीसँग आफ्नो धारणा राख्दै आइसिसी अध्यक्ष ग्रेग बार्कले । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत ७ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले नेपाली क्रिकेट सकारात्मक बाटोमा अगाडि बढेकोमा खुशी ब्यक्त गर्नुभएको छ । 

चारदिने नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष बार्कलेले बुधबार सञ्चारकर्मीसँग छलफल गर्दै नेपालले छोटो समयमा क्रिकेटमा गरेको प्रगतिले विश्व समुदायलाई उत्साहित बनाएको पनि बताउनुभयो । 

‘‘क्रिकेट खेलको विकासका लागि नेपाल सरकार, सरोकारवाला निकाय र नेपाल क्रिकेट सङ्घ (क्यान) को चासो तारिफ योग्य छ । नेपालले अन्य एसोसिएट राष्ट्रले गरेको गतिविधिलाई पनि नियाल्न आवश्यक छ । आसन्न आइसिसी टी२० विश्वकप खेल्दै गरेको नेपालले आगामी दिनमा थप प्रगति गर्नेमा म विस्वस्थ छु । आइसिसीले नेपालले तय गरेको लक्ष्यमा आवश्यकता अनुसार सहयोग गर्ने हो । यहाँको महत्वकांक्षा र लक्ष्य अनुरुप क्रिकेटलाई अगाडि लैजान आइसिसी सहयोग गर्न सँधै तत्पर छ,’’ बार्कलेले भन्नुभयो । 

आइसिसीले नेपाललाई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न दिन र न्युटल भेन्युको रुपमा छनोट गर्न यहाँको संरचनालाई पनि ध्यान दिनुपर्ने बार्कलेको भनाई छ । बार्कलेले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीसँग छुट्टाछुट्टै भेट र छलफल गर्नुभएको थियो । 

छलफलका क्रममा नेपालको सबै ‘स्टेक होल्डर’ले यहाँको क्रिकेट खेलको विकासमा चासो देखाएको आफुले पाएको पनि अध्यक्ष बार्कलेले बताउनुभयो । उहाँले आइसिसीको सहयोग र नेपाल सरकारको समेत लगानीमा बनेको मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको समेत अवलोकन गर्नुभएको थियो ।  

यस्तै क्यानका सचिव पारस खड्काले बार्कलेको भ्रमणले नेपाली क्रिकेटको बास्तविक अवस्थालाई आइसिसीले नजिकबाट हेरेको र नेपाली क्रिकेटमा विगतमा देखिएको अन्योलता पूर्ण रुपमा निवारण भएको बताउनुभयो । खड्काले आइसिसीले मुख्यगरी नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने आइसीसी यू–१९ विश्वकपलाई विशेष रुपमा चासो दिएको पनि बताउनुभयो । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसिसी अध्यक्ष बार्कलेको भ्रमणले नेपाली क्रिकेटको विकासमा थप माहोल बनेको बताउनुभयो । कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, कोषाध्यक्ष पदम खड्कालगायत पदाधिकारीको उपस्थिति रहेको थियो । अध्यक्ष बार्कले बिहीबार भारत जानुहुनेछ ।